काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आह्वान गरेका छन्। मुलुकको स्थिति फेरि संकटमा जान नदिन देउवालाई विश्वासको मत दिनुपर्ने बताएका छन्।
भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेता खनालले कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन अपिल गरेका हुन्।
आइतबार एक विज्ञप्ति जारी गर्दै नेता खनालले असार २८ गते भएको सर्वोच्च अदालतको फैसलाले निकै लामो समयदेखि गलत बाटोमा गैरहेको नेपालको लोकतान्त्रिक आन्दोलनको प्रवाहलाई ठिक बाटोमा ल्याएको दाबी गरेका छन्।
‘यस्ता घटनाहरूमा पनि हाम्रो पार्टीले राष्ट्रिय राजनीतिमा मार्गदर्शनको भूमिका खेल्न सक्नुपर्छ। मुलुकको राष्ट्रिय राजनीतिक प्रवाहबाट अलग-अलग बस्ने नीति लिनु हुँदैन‚’ विज्ञप्तिमा भनिएको छ‚ ‘सर्वोच्च अदालतको उक्त फैसलापछि लोकतान्त्रिक आन्दोलनका सहयोद्धा माननीय शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेको छ। यो सरकार अब दुई वर्षसम्म निर्वाद रुपले चल्न सक्नुपर्छ।’