काठमाडौं : बहुप्रतिक्षित जनकपुर–जयनगर रेल्वे ट्रयाकको सफल परीक्षण गरिएको छ । आइतबार भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर दूरीमा प्रतिघण्टा १२० किलोमिटर प्रतिघण्टाको रफ्तारमा भारतीय रेल सञ्चालन गरिएको हो ।
पूर्वसूचनासहित ट्रयाक परीक्षण गरिएको भए पनि स्थानीयवासीले रेलवे ट्रयाकमै चौपाया बाँधेका कारण रेलले किचेर चौपायाको मृत्यु भएको छ । रेलले किचेर धनुषाको महुवास्थित रेल्वे लिकमा चरिचरण गरिरहेका एक खसी र एक बाख्राको मृत्यु भएको हो ।
रेल सञ्चालनको पूर्वतयारीको शिलशिलामा रेल्वे ट्रयाकको स्पिड टेस्ट र सर्टिफिकेसन गरिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । उनका अनुसार भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा रेल्वे लिकको स्पिड र सर्टिफिकेसन गरिएको हो ।
महाप्रबन्धक भट्टराईले ट्रयाकको स्थितिबारे जानकारी लिन आज स्पिड टेस्ट गरिएको बताए ।