• १३ असार २०८३, शनिबार

नुवाकोटमा निषेधाज्ञाको प्रोटोकल प्रशासनबाटै उलङ्घन

नुवाकोट, ६ साउन । नुवाकोटमा निषेधाज्ञाको प्रोटोकल जिल्ला प्रशासनबाटै उलङ्घन भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले साउन १ देखि जिल्लाभर लागु हुने गरी जारी गरेको निषेधाज्ञाको उलङ्घन गर्दै जिल्लामा सार्वजानिक यातायातका साधनले मनोमानी भाडा असुल्दै सवारीसाधन सञ्चालनमा ल्याएका छन् ।

साउन १ गते मध्यरातदेखि साउन १० गते सम्म सार्वजानिक यात्रुबहाक सवारीसाधन सञ्चालन गर्न नपाउने जिल्ला प्रशासन कार्यलय नुवाकोटले निर्देशन गरेको छ ।

नुवाकोटमा कोरोना संक्रमणको अवस्था न्युनिकरण नभएको बताउँदै कोभिड-१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको सिफारिसमा साउन १० गते सम्म निषेधाज्ञा जारी गरेको थियो । तर प्रशासनको निर्देशनलाई उलङ्घन गर्दै सार्वजानिक सवारीसाधनहरुले मनलाग्दी भाडादर असुल्दै यात्रुहरु बोक्न थाल्दा प्रहरी प्रशासन र जिल्ला प्रशासन मुकदर्शक बनेर बसेको देखिन्छ ।

सरकारले राष्ट्रिय स्तरमा अन्तरप्रदेश चल्ने सवारीको २८ प्रतिशतसम्म भाडा बढाएको भएपनि यातायात व्यवसायीले आफूखुशी भाडा अशुल्दै आएका छन् । यातायात व्यवस्था विभागले लामो दूरीमा मात्रै भाडा बढाएको र स्थानीय तथा प्रादेशिक स्तरका रुटमा सम्बन्धित स्थानीय तह र प्रदेशले नै भाडा बढाउन सक्ने बताउँदै आएको छ ।

तर, अहिलेसम्म कुनै पनि प्रदेश र स्थानीय तहले भाडा वृद्धिको निर्णय नलिएको अवस्थामा नुवाकोटका यातायात व्यवसायीहरुले आफुखुशी भाडा बढाएका हुन् । अहिले नुवाकोटबाट काठमाडौं सम्मको भाडादर ५ सय रुपैयाँ सम्म तिर्नुपरेको सर्वसाधारणले गुनासो गरेका छन् ।

सम्बन्धित स्थानिय निकाय र जिल्ला प्रशासन कार्यालयको अनुमति नलिई जिल्लाको विभिन्न स्थानिय रुटमा चल्ने सार्वजनिक यातायातले पनि भाडा बढाएका छन् ।

नुवाकोटदेखि काठमाडौंसम्म यसअघि यात्रुबहाक डिलक्स बसले २ सय रुपैयाँ र एसीसहितको बसले ३ सय २० रुपैयाँ लिने गरेको भएपनि अहिले सबै यात्रुबाहक बसले कोरोना भाइरसको कारण देखाउँदै ५ सय रुपैयाँ असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् ।

यातायात व्यवसायीहरुले कोरोना भाइरसबाट आफूहरुले धेरै क्षति व्यहोरेको भन्दै स्वास्थ्य सर्तकता अपनाउँदै आफूहरुले सवारी चलाएको र सिट क्षमताभन्दा कम यात्रुहरु राखेको भन्दै साविक भन्दा केही बढी भाडा लिएको बताउँछन् ।

यात्रुवाहक वसले बढी भाडा लिने गरेको गुनासो आम सर्वसाधारणहरुले गरेपनि जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला ट्राफिक कार्यालय मौन बसेको छ।

जिल्ला प्रशासन कार्यालय नुवाकोट आफैंले आदेश जारी गर्दै सार्वजानिक सवारी सञ्चालन पुर्ण रुपमा रोक लगाएको भएतापनि प्रशासन आफैँले आदेशको उलङ्घन गरी सञ्चालनमा रहेका सवारीसाधनहरुलाई सन्चालनमा कुनै रोक लगाएको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका असाई सुरेन्द्र बिष्टले आफूहरुले महँगो भाडा अशुली गर्नेलाई कारबाही गर्ने बताए ।

निषेधाज्ञा भए पनि सवारी साधन नरोक्नुस भन्ने आदेश छ’ बिष्टले भने, ‘थोरै संख्यामा गाडीहरु संचालनमा छन,यात्रुहरुको विभिन्न गुनासोको कारण प्रोटोकल विपरीत भएपनि सवारी साधन सञ्चालनमा रोक लगाउन सकेका छैनौं।’ प्रशासनकै आदेशको उलङ्घन गरी सवारीसाधनहरु सञ्चालनमा आउँदा समेत प्रशासन मौन बसिरहेको छ ।

निषेधाज्ञाको समयमा प्रहरी र प्रशासनमा पँहुच भएका व्यवसायीहरुले सार्वजनिक सवारी सञ्चालन गरिरहेका छन् । प्रदेश र स्थानीय तहले अझै नयाँ भाडादर नतोकिसकेकाले यसरी भाडा बढाउनु अवैध भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

‘प्रादेशिक सार्वजनिक यातायातको हकमा सम्बन्धित प्रदेश सरकार र स्थानीय सार्वजनिक यातायातको हकमा स्थानीय सरकार वा सम्बन्धित निकायबाट समायोजन नभएसम्म साविक बमोजिमकै भाडादर लागु गर्न विभागले निर्देशन गरेको छ ।

नुवाकोट प्रशासनको चरम लापरवाहीको कारण जिल्लामा निषेधाज्ञाको समयमा समेत निर्वाध रुपमा बजार क्षेत्रका पसल तथा सवारीसाधन चलेपछि यातायात व्यवसायीहरुले सवारीसाधन संचालन गरेको बताएका हुन् ।

जिल्लामा लामो तथा छोटो दुरीका सवारीसाधन संचालन भएसँगै बजार क्षेत्रमा सर्वसाधारणहरुको चहलपहल बढेको छ ।

नुवाकोटमा गत बैशाख २१ गते निषेधाज्ञा जारी भएदेखि नै निषेधाज्ञाको फितलो कार्यान्वयन गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलाल भने मौन बसेका छन् ।





प्रतिक्रिया दिनुहोस्