नुवाकोट, ११ साउन । नुवाकोटमा कोरोना संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी गरिएको निषेधाज्ञाको समय थप भएको छ ।
नुवाकोटमा फेरि साउन २० गतेसम्मको लागी निषेधाज्ञा जारी राख्ने निर्णय कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रले गरेको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले निशेधाज्ञा जति थप्दै गएपनि कार्यान्वयनमा भने सुरुका दिनदेखि नै चुक्दै आएको छ ।
नुवाकोट प्रशासनले जारी गरेको निशेधाज्ञाको सूचना बाहिरिएपछि सर्वसाधारणहरुले असन्तुष्ट जनाएका छन् । नुवाकोटमा निषेधाज्ञाको कार्यान्वयनको लागि प्रशासनले तदारुकता नदेखाएको भन्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलालको चौतर्फी आलोचना भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले नुवाकोटमा कोरोना संक्रमणको तेश्रो लहर समेत पुष्टि भैसकेको भन्दै निषेधाज्ञा थपेको जनाएको छ ।
थपिएको निषेधाज्ञामा शैक्षिक संस्था, होटल, पार्टिप्यालेस सञ्चालन गर्न नपाउने उल्लेख भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटका सुचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले बताए ।
मध्यम तथा लामो दुरीका सार्बजानिक यातायातका साधनहरु स्वास्थ्य मापदण्ड पालना गर्दै सञ्चालन गर्न निर्देशन जारी गरेको छ । यसभन्दा अगाडी साउन १ गते देखि थपिएको निषेधाज्ञामा पनी शैक्षिक संस्थावाहेक सबै क्षेत्र खुल्ला रहेका थिए । जिल्ला प्रशासन कार्यालय नुवाकोटले आदेश जारी गरे पनी लामो समय सम्म निषेधाज्ञामा रहेका नागरिकहरु स्वतस्फुर्त रुपमा बजारमा निस्किएका हुन् ।
स्थानिय प्रशासनले निषेधाज्ञाको कडा कार्यान्यन गर्न नसक्दा सबै क्षेत्र खुल्दा जिल्लामा कोरोनाको थप जोखिम बढ्दै गएको छ ।
होटल र रेष्टुरेण्टका संचालकहरुले स्वास्थ्य सुरक्षाको सावधानी अपनाएर व्यवसाय संचालन गरिरहेको दावी गरेका छन् । तर सदरमुकाम विदुर लगायतका बजार क्षेत्रमा देखिएको बढ्दो भिडभाड र चहलपहलले स्थानिय प्रशासनले जारी गरेको निषेधाज्ञा कागजमै मात्र समिति भएको छ ।
जिल्लामा कोरोना संक्रमितहरुको संख्यामा कमि नआएको र जोखिम कायमै रहेको अवस्थामा पनि चहलपहल र भिडभाड बढ्दा संक्रमणको जोखिम झनै बढेको जनस्वास्थ्यविदहरु बताउँछन् ।
नुवाकोटमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ९४ रहेको छ । भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।