नुवाकोट, १२ साउन । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ बाट गत चैतमा हराएको भनिएको सामाजिक सुरक्षा भत्ताको अनुसन्धान बारे सत्यतथ्य सार्वजनिक गर्न पञ्चकन्या गाउँपालिका माओवादी केन्द्रले जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ।
सोमबार माओवादी केन्द्रका जिल्ला अध्यक्ष हिरानाथ खतिवडाकाे नेतृत्वमा प्रशासनसामु ध्यानाकर्षण गराउदै केन्द्रले घटनालाई राजनैतिक तवरले नलुकाउन र सत्यतथ्य सार्वजनिक गरी निचोड दिन आग्रह गरेका हुन् ।
पञ्चकन्या गाउँपार्टी कमिटी इन्चार्ज मिनबहादुर केसी,वडा तहका पार्टी वडा इन्चार्ज,वडा अध्यक्षहरु,सचिव र गाउँपार्टी कमिटीका सदस्यहरुको उपस्थितिमा प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयलाई ध्यानाकर्षण गराइएको पञ्चकन्या गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मणिनाथ लामिछानेले बताए ।