नुवाकोट, १७ साउन । अबिरल वर्षासँगै आएको पहिरोले नुवाकोटको विदुर नगरपालिका-१ वान्द्रेमा पहिरो जाँदा स्थानीय राजु वि.क. र आईते तामाङको घरमा पूर्ण क्षेति पुगेकोले आइतबार जिल्ला विपद् व्यवस्थापन समिति मार्फत जिल्ला प्रशासन कार्यालय नुवाकोटले राहत स्वरुप रकम उपलब्ध गराएको छ ।
जिल्ला स्थित विपत् व्यवस्थापन शाखाले आइतबार पीडित दुई परिवारलाई प्रति परिवार १५ हजार रुपैयाँको दरले रकम प्रदान गरेको मच्छिन्द्र नरसिंह प्याकुरेलले बागमती प्रेसलाई जानकारी दिए ।
यही साउन १५ गते शुक्रबार राती आएको अविरल वर्षाको कारण राजु वि.क. र आईते तामाङको घरमा क्षति पुगेको थियो भने राजु वि.क., उनको श्रीमती र छोराछोरीलाई कोठामा सुतिरहेको अवस्थामा राती करिव १२ वजेको समयमा पहिरोले आधा भन्दा वढी शरिर पुरिरहेको अवस्थामा छिमेकीहरूले उद्वार गरि अस्पताल पुराएका थिए ।
राजु विकको श्रीमतीको गोडा पहिरोले थिचेर भाचिएको छ भने उनको छोराछोरी र उनलाई समेत सामान्य चोट लागेको प्रहरी प्रतिवेदनको आधारमा पीडित परिवारलाई नगद रुपैयाँ उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालय विपत् व्यवस्थापन शाखाले जानकारी दिएको छ ।
विपद् पीडित भएकालाई तत्काल राहत सहयोग उपलब्ध गराउने कार्यक्रम अन्तरगत एक साता अघि पनि जिल्ला प्रशासन कार्यालय विपद् व्यवस्थापन शाखाका अधिकारीहरुको टोलीले दुप्चेश्वर गाउँपालिका वडा नं. ७ शिखरबेशीमा गएको पहिरो पीडितलाई नगद रुपैयाँ र टेन्ट उपलब्ध गराएको थियो ।