नुवाकोट, २४ साउन । रुम टू रीड नेपालको आर्थिक तथा प्राविधिक सहयोग र रुडेक नेपालको व्यवस्थापनमा नुवाकोटको ४८ वटा सामुदायिक विद्यालयमा एकिकृत साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ ।
रुम टु रीड र रुडेक नेपालको साझेदारीमा नुवाकोटका सामुदायिक विद्यालयहरुमा निषेधाज्ञाको समयमा बालबालिकाहरुको सिकाइ निरन्तरताको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेका छन् ।
कोरोना भाइरस कोभिड-१९ सङ्क्रमणको दोश्रो लहरका कारण विद्यालयहरु बन्द भई विद्यार्थीहरु घरमै रहेको अवस्थालाई मध्यनजर गर्दै घरमै रहेका विद्यार्थीहरुको सिकाइ निरन्तरताको लागि रुम टू रीड र रुडेक नेपालको सहजीकरणमा सिकाइ निरन्तरताका लागि नुवाकोटका ४८ वटा साक्षरता कार्यक्रम लागु भएका सामुदायिक विद्यालय अन्तर्गतका कक्षा १ र कक्षा २ का बालबालिकाहरुको सिकाइ निरन्तरताको लागि अनलाइन अतिरिक्त क्रियाकलाप प्रतियोगिता आयोजना गरिएको हो ।
कक्षा १ को लागि “अनुलेखन क्रियाकलाप” र कक्षा २ को लागि “शब्द निर्माण क्रियाकलाप” प्रतियोगितामा नुवाकोटका साक्षरता कार्यक्रम सञ्चालित ४८ वटा सामुदायिक विद्यालयका बालबालिकाहरूको सक्रिय सहभागिता रहेको रुडेक नेपाल साक्षरता कार्याक्रम संयोजक फुर्बा घलेले जानकारी दिए ।
प्रतियोगितामा कक्षा १ “अनुलेखन” प्रतियोगितामा श्री भृकुटी मा.वि. का छात्रा अशुजा भुजेल प्रथम, श्री शान्तिबिद्या आ.वि.का छात्र श्रवन स्याङ्ताङ् द्वीतीय, श्री इन्द्रेस्वर आ.वि.का छात्र गौतम बि.क. तृतीय र श्री कालिका मा.बि. पञ्चकन्याका छात्र अनुप अधिकारी सान्त्वना हुन सफल भएका थिए भने कक्षा २ “शब्द निर्माण” प्रतियोगिता अन्तर्गत श्री रामचन्द्र आ.वि.का छात्रा अकेशा श्रेष्ठ प्रथम, श्री संकृत मा.वि.का छात्रा स्रिस्टी मिजार द्वीतीय,श्री सूर्यमती मा.वि.का छात्रा प्रतिभा श्रेष्ठ तृतीय र श्री कालिकादेवि मा.बि. गुर्जेका छात्रा सुशिला मिजारले सान्त्वना स्थान प्राप्त गर्न सफल भएको रुडेक नेपालले जानकारी दिएको छ ।
विद्यार्थीलाई उचित पुरस्कार तथा डिजिटल प्रमाण पत्रसहितको उत्साह एवं सम्मान कार्यक्रम रहेको रुडेक नेपालका अध्यक्ष मीनकुमार के.सी.ले जानकारी दिए । उक्त क्रियाकलापमा सहभागिता जनाउने विद्यालय, विद्यार्थी, शिक्षक र सहजीकरण गर्ने साक्षरता सहजकर्ता सबैलाई रुम टू रीड कार्यालयका निमित्त प्रबन्धक राधाकृष्ण हुमागाईले धन्यवाद व्यक्त गरेका छन् ।