काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले व्यक्तिगत स्वार्थ, गुटबन्दी र व्यवस्थापनको समस्याका कारण चार वर्षमा हुनुपर्ने महाधिवेशन साँढे पाँच वर्ष बितिसक्दा पनि हुन नसकेकोमा असन्तुष्टी जनाउँदै जतिसक्दो छिटो महाधिवेशन गरिनुपर्ने बताएका छन् ।
अन्य प्रजातान्त्रिक मुलुकमा फरक फरक पार्टीहरु बीच शक्ति संघर्ष हुने गरेपनि नेपालमा आफ्नै पार्टी भित्र गुटबन्दी र शक्ति संघर्ष चलिरहेको कारण नेपाली कांग्रेसको क्रियाशिल सदस्यता वितरणमा विवाद देखिएको डा. महतको भनाई रहेको छ । साँढे पाँच वर्षमा पनि अधिवेशन हुन नसके संविधान विपरित हुने भन्दै सबैलाई व्यक्तिगत स्वार्थ, गुटबन्दी तथा आन्तरिक शक्ति संघर्ष छाडेर आपसी सहमतिका आधारमा उपयुक्त व्यक्तिको छनोट गर्नुपर्ने डा. महत बताउँछन् ।
सहमति हुन नसक्ने केही ठाउँमा निर्वाचन गरिनुपर्ने महतले बताए । “पार्टी भित्र संघर्ष गर्नु उचित होइन”, डा. महतले भने, ” “एकता कायम गरेर नै अघि बढ्नुपर्छ ।”
शनिबार काठमाडौंको जालपा चोक स्थित कफी भट्टिमा नुवाकोट शिवपुरीका नेपाली कांग्रेस समर्थक युवाले आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै डा. महतले व्यक्तिगत स्वार्थ र गुटबन्दीको राजनीति छाडेर आफ्नो दायित्व र जिम्मेवारी पुरा गर्न नेपाली कांग्रेससँग आबद्ध भातृ संगठनलाई सुझाब दिएका छन् ।
त्यस्तै, नुवाकोटमा पुर्वाधार विकासका क्षेत्रमा भएका काम मध्ये ८० प्रतिशत काम नेपाली कांग्रेसको नेतृत्वमा भएको भन्दै देशको विकास हुन अर्थतन्त्रमा सुधार गरिनुपर्ने, गरिबीको अन्तय हुनुपर्ने तथा व्यवसायको विकाश हुनुपर्ने भन्दै आफू जुन पेशा व्यवसाय अपनाउँदै आएको हो त्यसै पेशा व्यवसाय मार्फत आर्थिक विकास गर्न सके देश समृद्धीको पथमा अगाडि बढने डा. महतले बताए ।
डा. महतले लोकतन्त्र र संघियतालाई फलाउन फुलाउन आर्थिक विकासमा जोड दिनुपर्ने भएकाले आफ्नो-आफ्नो क्षेत्रमा अघि बढ्न कार्यकर्तालाई सुझाव दिएका छन् । नुवाकोट शिवपुरीका नेपाली कांग्रेसका युवा नेता हरि दुलालको सभापतित्वमा भएको उक्त कार्यक्रममा नुवाकोट घर भई हाल काठमाडौं बसोबास गर्दै आएका नेपाली कांग्रेस समर्थक कार्यकर्ताको उपस्थिति रहेको थियो।