नुवाकोट : नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा एमसीसीका लागि एमसीए नेपालले अधिग्रहण गरेको करिब चार सय रोपनी जमीन कब्जा गरिएको छ।
संरचना निर्माण गरिन लागिएको स्थलमा स्वतन्त्र उन्नत लोकतन्त्र पार्टी (एडिपि) र स्वतन्त्र राष्ट्रिय अभियान नेपालले शनिबार हजारौंको संख्यामा प्रदर्शन गर्दै राष्ट्रिय झण्डा गाडेर सो जग्गा कब्जाको घोषणा गरेको हो। उक्त जग्गामा एमसीसीले कुनै पनि संरचना निर्माण गरेमा ध्वस्त गर्ने चेतावनी पनि दिएको छ।
जमीन वरपर र उक्त वडाका विभिन्न स्थानमा नारा जुलुससहित एमसिसी चाहिँदैन, नेपाल आमा जिन्दावाद, विदेशी हस्तक्षेप मुर्दावाद, आमन्त्रित हस्तक्षेप मुर्दावाद लगायतका नारा लगाउँदै शनिबार दिनभर प्रदर्शन गरिएको थियो।
कार्यक्रममा एमसिसीले अधिग्रहण गरेको जग्गामा झण्डा गाड्दै उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष तथा अधिवक्ता स्वागत नेपालले सो स्थानमा उप्रान्त एमसिसीको कुनै पनि संरचना निर्माण गरिएमा तत्काल ध्वस्त बनाइने चेतावनी दिए।
उनले अधिग्रहण गरिएका व्यक्तिहरुलाई प्रलोभन, झुक्यान र डर धाकधम्की दिएर एमसिसी पक्षधर नेता र प्रशासकहरुले जमीन अधिग्रहण गरेको कारण उक्त स्थानमा राष्ट्रिय कृषि विश्वविद्यालय, अनुसन्धानशाला वा खेलकुद रंगशाला निर्माण गरिनु पर्ने पनि बताए।
कार्यक्रममा स्थानीय अधिग्रहण पीडित ७० वर्षीय बालकृष्ण न्यौपानेले आफूहरुलाई झुक्याएर जग्गा अधिग्रहण गरिएको बताए। स्थानीय राममणि नेपालले पनि आफूहरुलाई एमसिसीका कर्मचारी, स्थानीय जनप्रतिनिधीहरुको नाम नै उल्लेख गरेर आफूहरु एमसिसीविरुद्ध बोलेमा जे पनि गर्न सक्ने धम्की दिने गरेको बताए।
सो स्थानमा प्रतिकारका लागि पाँच सय सदस्यीय एमसिसी प्रतिकार समिति पनि गठन गरेको घोषणा गरिएको थियो।
कार्यक्रममा उन्नत लोकतन्त्र पार्टीका केन्द्रीय सदस्यहरु कृष्ण प्रसाई, राम राजा आचार्य, शिवराम थापा, दुर्गा बस्नेत, नरेन्द्र कुमार शाह, अभियानका केन्द्रीय सदस्य, इन्द्र कालिकोटे, दीपेन्द्र मोक्तान, संगीता घिमिरे, मीना बस्याल, मोहन सोती, विद्यार्थी संगठनका अध्यक्ष के के थापा लगायतले एमसिसी नेपालको संविधानभन्दा माथि भई नेपाललाई कानुनी रुपमा अमेरिकी उपनिवेस बनाउने चाल भएकोले निस्तेज बनाउन आफूले जुनसुकै मुल्य चुकाउन तयार रहेको बताएका थिए।