नुवाकोट, २ भदौ । नेकपा एमाले नुवाकोटका अध्यक्ष तथा प्रदेश सांसद बद्री मैनालीले बुधबार एक विज्ञप्ती जारी गर्दै राजनीतिक दल सम्बन्धी अध्यादेशको बिरोध गरेका छन् ।
साथै राजनीतिक दल सम्बन्धी अध्यादेशले लोकतन्त्रको खिल्ली उडाएको सांसद मैनालीले टिप्पणी गरेका छन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण विश्वजगतसँगै नेपाल पनि आक्रान्त रहेको अवस्थामा नेपालीलाई पनि कोरोनाविरुद्धको खोप दिएर सुरक्षित बनाउनुपर्ने समयमा शेरबहादुर देउवा नेतृत्वको सरकार भने दलहरू विभाजन गराउनका लागि अध्यादेश ल्याएर लोकतन्त्रको खिल्ली उडाइरहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ सरकारले मंगलबारको मन्त्रिपरिषद् बैठकबाट राष्ट्रपति समक्ष नेकपा एमाले विभाजन गराउने कुत्सित मनसायका साथ सिफारिस गरेको राजनीतिक दल सम्बन्धी (दोसो संशोधन) अध्यादेश, २०७४ अध्यादेश प्रति हामो गम्भीर ध्यानाकर्षण भएको नेकपा एमाले नुवाकोटले जनाएको छ ।
दिनदहाडै भारतीय एसएसबीले तुइन काटेका कारण नेपाली युवा जयसिंह धामी महाकालीमा वेपता हुँदा यूँ पनि नबोल्ने, अफगानिस्तानमा नेपाली नागरिक त्यति ठूलो समस्यामा पर्दा पनि स्वदेश फर्काउन कुनै पहलकदमी नलिने सरकार अहिले हठात रुपमा संसद अधिवेशन अन्त्य गराएर अध्यादेशबाट सता चलाउनका लागि जुन प्रयत्न गरिरहेको छ यसमा नेकपा एमाले नुवाकोटको गम्भीर आपति रहेको मैनालीले बताए ।
“सरकारको यो कदम संविधान र सर्वोच्च अदालतको फैसलाको भावनाविपिरत समेत रहेको तथ्य सरकारलाई स्मरण गराउन चाहन्छौं” सांसद मैनालीले भने, “नेपाल सरकारको हालको प्रमुख कार्य एवं प्राथमिकता भनेको कोरोना भाईस नियन्त्रण, संक्रमण न्यूनिकरण र नागरिकलाई त्यसको खोप उपलब्ध गराउने हुनुपर्ने हो , तर यस्तो समयमा लोकतन्त्र र दलीय व्यवस्था कमजोर बनाउने नियतका साथ ल्याइएको अध्यादेशको एमाले नुवाकोट डटेर प्रतिवादमा उत्रने छ ।”