भदौ, ११ धनकुटा । छथर जोरपाटी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर घिसिङको कार्यकक्षमा मदिरा सेवन गरिरहेका तीनजनालाई स्थानीयले थुनेका छन्।
वडाध्यक्षको कार्यकक्षमा बसेर मदिरा र मासु खाइरहेका नेकपा (एमाले) धनकुटा जिल्ला सदस्य भोजबहादुर विश्वकर्मा र अन्य दुईजनालाई स्थानीयले थुनेको स्थानीय मेघराज खतिवडाले जानकारी दिए। बिहीबार बेलुका वडा कार्यालयभित्र हल्ला आएपछि हेर्न जाँदा वडाध्यक्ष घिसिङको कार्यकक्षमा बसेर मदिरा र मासु खाइरहेका चारजना फेला परेको र उनीहरुलाई थुन्न खोज्दा एमाले धनकुटाका जिल्ला कमिटी सदस्य हरि ओझा भागेको खतिवडाले बताए।
उनले विश्वकर्मासहित अन्य दुईजनालाई तीन घण्टा थुनेको जानकारी दिए। दुईजना स्थानीय एक विद्यालयको शिक्षक रहेको खतिवडाको भनाइ छ।
‘हामीले वडाध्यक्षको कार्यकक्षमा चारजना बसेर मदिरा सेवन गरिरहेको भेट्टायौं‚’ खतिवडाले भने, ‘थुन्न खोज्दाखोज्दै एमाले जिल्ला कमिटी सदस्य हरि ओझा भागे, एमालेकै जिल्ला सदस्य भोजबहादुर विश्वकर्मा र अन्य दुई शिक्षकलाई थुन्यौं।’ ती शिक्षकको नाम भने खतिवडाले बताउन चाहेनन्। थुन्न खोज्दा भागेका ओझा केही समयपछि त्यहीं आएको खतिवडाले बताए। खतिवडाले गाउँपालिकाको कार्यालयमा शुक्रबार छलफल गर्ने सर्तमा उनीहरुलाई छोडेको बताए।
यता वडाध्यक्ष घिसिङलाई बिहीबार बेलुका यस विषयमा बुझ्दा आफूलाई केही जानकारी नभएको बताएका थिए। उनले शुक्रबार बिहान भने आफ्नो कार्यकक्षमा केही साथीहरुले विद्यालयको काम गरिरहेको बेला उनीहरुलाई थुनेको जानकारी पाएको बताए। उनले खाजा नास्ता चिसो पेय पदार्थ मात्रै गरिरहेको आफूले जानकारी पाएको बताए।
सोही विषयमा छथर जोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले दुवै पक्षलाई छलफलका लागि बोलाएको बताएका छन्। उनले थुन्ने पक्षले मदिरा सेवन गरेको भनेको र थुनिने पक्षले विद्यालयको कामले बसेको बताएको जानकारी दिए।