नुवाकोट, १४ भदौ । नुवाकोटबाट धादिङ हुँदै काठमाडौं लैजाँदै गरेको लोपोन्मुख जिवित सालकसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
आईतबार गल्छीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा अनुगमन गर्दा नुवाकोटबाट काठमाडौं लाँदै गरेको सालकसहित पक्राऊ गरेको हो । पक्राउ परेका ६ जना मध्ये ३ जना धादिङ घर भएका छन् भने बाँकी ३ जना बाहिरी जिल्लाको रहेकाे प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैजनालाई हिरासतमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका एस्पीले बागमती प्रेसलाई जानकारी दिए । प्रहरीले पक्राऊ गरेको सालक जिल्ला वन कार्यालय धादिङमा राखिएको छ ।
उक्त सालकलाई अदालतको निर्णय आएपछि जङ्गलमा छाडिने जिल्ला वन कार्यालय धादिङका प्रमुख शोभा सुवेदीले जानकारी दिइन् ।
सालकको मासु र छाला (खपटा) चिनियाँ बजारमा माग हुने गरेका कारण नेपालबाट यसको तस्करी हुने गरेको घटनाक्रमले देखाएको छ।
वन संरक्षण ऐनअनुसार सालक तस्करीमा पाँचदेखि १५ वर्षसम्म कैद, रु पाँचदेखि १० लाखसम्म जरिवाना तथा दुवै सजाय हुन सक्ने व्यवस्था छ।