नुवाकोट, २२ भदौ । एमसीसी परियोजनाको बिरुद्धमा नुवाकोटमा प्रदर्शन भएको छ ।
नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता र विद्यार्थीले नुवाकोटको सदरमुकाम विदुरको बट्टार स्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पस अगाडि प्रदर्शन तथा खबरदारी सम्पन्न गरेका छन् ।
प्रदर्शनमा सहभागीहरुले परियोजना नेपालको हित विपरीत रहेको भन्दै खारेजी हुनु पर्ने बताएका थिए ।
मुलुकमा व्याप्त भ्रष्टाचार न्यूनिकरण गर्न सके देशको विकासका लागि विदेशीको मुख ताक्नुपर्ने अवस्था नआउने भन्दै नेकपा एकिकृत समाजवादीका युवा नेता उद्धव पनेरूले एमसीसी परियोजना खारेज गरेर भ्रष्टाचार नियन्त्रण गर्नेतर्फ लाग्नुपर्ने बागमती प्रेसलाई जानकारी दिए ।
एमसीसी परियोजना कार्यान्वयनमा आए मुलुकको राष्ट्रियता र स्वाधीनतामा गम्भीर असर पर्ने भन्दै आखिल क्रान्तिकारीका नेता प्रदिप भट्टले परियोजना खारेज नभएसम्म आम जनसमुदायले खबरदारी जारी राख्नुपर्ने आवश्यकता औल्याए ।

