• २८ फाल्गुन २०८२, बिहीबार

नुवाकोटमा साताव्यापी पुस्तकालय एवं साक्षरता दिवस कार्यक्रम सम्पन्न

नुवाकोट, २९ भदौ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले तय गरेको “सबल समाजको आधार, सार्वजनिक पुस्तकालयको विकास र विस्तार” भन्ने नाराका साथ १४ औं पुस्तकालय दिवस तथा “मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता” भन्ने नाराका साथ ५५औं अन्तराष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम संचालन गरी भव्यताका साथ सम्पन्न गरिएको छ ।

पुस्तकालय दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटको समन्वय र रुडेक नेपालको आयोजनामा साक्षरता कार्यक्रम लागु भएका र नभएका विद्यालयहरुका कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई लक्षित गरी साताव्यापी रुपमा विभिन्न कार्यक्रमहरु संचालन गरिएको थियो ।

उक्त साताव्यापी पढाइ कार्यक्रममा कक्षा एकका लागि चित्रकला प्रतियोगिता, कक्षा दुई र तीनका लागि सस्वर पठन प्रतियोगिता, कक्षाचार र पाँचका लागि चित्रका आधारमा कथा लेखन प्रतियोगिता आयोजना गरिएको थियो । कक्षा ४ र ५ को कथा लेखन प्रतियोगितामा नुवाकोट जिल्ला भरीका विद्यार्थीहरुलाई भाग लिने अवसर खुल्ला गरिएको थियो ।

त्यसेैगरी शिक्षकहरुको लागि पनि बालकथा लेखन प्रतियोगिता संचालन भएको थियो । रुम टु रिडले बि. स. २०६५ साल देखि नै प्राथमिक कक्षाका विद्यार्थीहरुको पढ्ने सीप र पढ्ने बानी विकासमा सहयोग पुर्याउनको लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

यस वर्ष भने कोभिड १९ ले आक्रान्त पारी विद्यालयहहरु बन्द रहेको परिस्थितिलाई मध्यनजर गरी भर्चुवल माध्यमबाट नै कार्यक्रम संचालन गरिएका थिए ।

बालबालिकामा रहेको अन्तर्निहित क्षमतालाई प्रष्फुटन गराउन सहयोग गर्ने हिसाबले कक्षागत रुपमा संचालन गरिएका उक्त कार्यक्रमहरुमा नुवाकोट जिल्लाका आधारभूत तहका ३५० भन्दा बढी विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको जानकारी रुडेक नेपाल साक्षरता कार्यक्रम संयोजक फुर्कु घलेले जानकारी दिए । कार्यक्रमको मूल्याङ्कन नुवाकोट फिल्ड कार्यलयका साक्षरता कर्मचारीहरुले गर्नु भएको थियो ।

सबै शीर्षकको प्रतियोगितामा प्रथम,द्धितीय,तृतीय र सान्त्वना हुन सफल विद्यार्थीहरुका लागि उत्साह र उत्प्रेरणा स्वरुप उचित पुरस्कारको ब्यबस्था रहेको रुडेक नेपालका अध्यक्ष श्री मिन कुमार के.सी.ले बताए ।

यस वर्ष पनि कोविड १९ को कारणले विद्यालय बन्द भएको अवस्थामा रुम टु रिड नुवाकोट कार्यालयले तयार गरेको कार्य निर्देशिका अनुसार १४ औं राष्ट्रिय पुस्तकाालय दिवस तथा ५५औं अन्तर्राष्ट्रिय साक्षरता दिवस सम्पन्न भयो ।

साक्षरता कार्यक्रम लागु भएका र लागु नभएका सबै विद्यालयबाट कथा लेखन प्रतियोगितामा विद्यार्थीहरुको साह्रै उत्साह जनक सहभागिता रहेको थियो ।

विद्यालयका शिक्षक, प्रधानाध्यापक र साक्षरता सहजकर्ताहरुले विद्यार्थीहरु सम्म पुग्ने, सहजिकरण गर्ने र उत्प्रेरणा जगाउने काम गरेका थिए । जसले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भुमिका खेलेको थियोे । पाँच महिना देखि घरमै बसी रेडियो, फोन र टोल शिक्षामा सहभागी भैरहेका विद्यार्थीहरुका लागि आफ्नो प्रतिभा प्रस्फुटन गर्ने महत्वपूर्ण अवसर मिलेको कुरा शिक्षक, विद्यार्थी एवम् अभिभावहरुले व्यक्त गरे ।





प्रतिक्रिया दिनुहोस्