काठमाडौंं, २ असोज । बागमती प्रदेशकी मुख्यमन्त्री तथा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपालले पार्टी विभाजन गरेपछि एमाले कमजोर बनेको बताएकी छन्।
महोत्तरीको बर्दिबासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री शाक्यले भनिन्, माधव कमरेडले एमालेलाई मजबुत बनाउनमा महत्वपूर्ण योगदान गर्नुभएको छ। उहाँले छुट्टै पार्टी स्थापना गरेपछि एमाले कमजोर भएको छ।’
मुख्यमन्त्री शाक्यले एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी गठन गरेर अघि बढेका नेपाललाई एमालेमा फर्किन आग्रह गरिन्। एमालेलाई देशको ठूलो पार्टी बनाउन सबैले आआफ्नो अडान छाड्नुपर्ने उनको भनाइ छ।
उनले माधव नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको भएकाले एकीकृत समाजवादीको सहयोगमा विश्वासको मत प्राप्त गर्ने दाबी गरिन्। मुख्यमन्त्री शाक्यले भनिन्, ‘सरकार अहिले अल्पमतमै छ। समाजवादीका प्रदेशसभा सदस्यहरुको सहयोगमा केही दिनमै विश्वासको मत पाउँछु।’