असोज ५, काठमाडौं । दसैंका लागि नेपाली व्यवसायीले झिकाएका सामान बोकेका कन्टेनरका लस्कर सीमापारि चिनियाँ नाकामा रोकिएका छन् । हजारभन्दा बढी कन्टेनरले पालो पर्खिँदा चिनियाँ अधिकारी खटाइखटाइ पठाउँदैछन्, जसलाई हेरेर आयातकर्ताले मालसामान दसैंमा बेच्न पाउने आश मारेका छन् ।
तातोपानी र रसुवा स्थलमार्गबाट हुँदै आएको निर्यात व्यापार ६ वर्षदेखि पूर्ण रूपमा बन्द छ । भूकम्पपछि लगातार बन्द तातोपानी नाका चार वर्षपछि खुले पनि दैनिक १० कन्टेनरभन्दा बढी सामान आयात गर्न बन्देज लगाइएको छ । चीनले रसुवाबाट पनि दैनिक ९ कन्टेनर मात्र आयात गर्ने अनुमति दिएको छ । नेपालीले चीनमा खरिद गरेको सामान ल्याउन पाए पनि यताको व्यापारिक वस्तु उता बेच्न भने पाइँदैन । दुवै नाकाबाट नेपालीको आउजाउमा ‘अघोषित प्रतिबन्ध’ छ । नाकाको सडक वर्षौंदेखि जीर्ण भए पनि यसको निर्माण र मर्मत सरकारको प्राथमिकतामा देखिँदैन । सीमा भन्सारका उच्च पदाधिकारबीच हुँदै आएको बैठक दुई वर्षदेखि बसेको छैन ।
चीनसँग जोडिएका यी दुई नाकालाई असजिलो पर्दा सघाउने वैकल्पिक मार्गका रुपमा हेरिने गरे पनि आयात–निर्यातमा देखिएको समस्या हल गर्न दुवै मुलुकको अग्रसरता देखिएको छैन । यसको प्रभाव व्यापारिक कारोबारमा सबैभन्दा धेरै परेको छ । चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौडेल सरकारले आफ्नो प्रस्ताव प्रस्ट रूपमा राख्नुपर्ने बताउँछन् । चीनसँग प्रोएक्टिभ भएर आफ्ना कुरा राख्न सके समस्या हल हुने धारणा उनको छ । ‘समाधानसहितको प्रस्ताव राखेर छलफल गर्ने परिस्थिति बनाउने कर्तव्य सरकारको हो,’ उनले भने, ‘ठूलो समस्या छ जस्तो लाग्दैन ।’
कान्तिपुर