• २६ माघ २०८२, आईतवार

एमाले फुटाउने मुख्‍य योजनाकार नै माधव नेपाल : केपी ओली

काठमाडौं, १५ असोज । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई विभाजन गराउने मुख्य योजनाकार नै माधवकुमार नेपाल भएको आरोप लगाएका छन्।

अध्यक्ष ओलीले पार्टी विभाजन गर्ने माधव नेपालको योजनामा साथ नदिएर पार्टी एकताको पक्षमा उभिएको भन्दै उपाध्यक्ष भीम रावलसहितका नेताहरूले स्वागतयोग्य काम गरेको टिप्पणीसमेत गरे।

पार्टीको जारी विधान अधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले भने, ‘पार्टी एकता जोगाउनका लागि प्रदर्शित अधिकतम लचकताका बाबजुद हरहालतमा पार्टी विभाजन गरी छाड्ने माधव नेपालको योजना स्पष्ट भएपछि पार्टीभित्रको अन्तरसंघर्षमा साथमा रहनुभएका अधिकांश कमरेडहरु त्यसलाई अस्विकार गरेर एकताको पक्षमा उभिनुभएको छ। यो स्वागतयोग्य निर्णय हो।’

अध्यक्ष ओलीले पार्टीको एकतालाई जोगाउनका लागि माओवादी केन्द्र पृष्ठभूमि भएका रामबहादुर थापालगायतका नेताहरूले सकारात्मक योगदान पुर्‍याएको पनि स्पष्ट पारे।

उनले नेकपा एमालेलाई विभाजन गराउन र माधव नेपालहरूलाई वैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको भूमिकासमेत सहयोगी भएको दाबीसमेत गरे। उनले त्यस्ता खालका गतिविधिको आफ्नो पार्टीले कानुनसम्मत ढंगले प्रतिवद्धत गर्ने चेतावनीसमेत दिए।

अध्यक्ष ओलीले भने, ‘नेकपा एमालेलाई विभाजन गराउन र उनीहरूलाई वैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको समेत सहयोगी भूमिका रहेको छ, जसलाई हामीले कानुनसम्मत प्रतिवाद गर्नेछौं।’





प्रतिक्रिया दिनुहोस्