असोज ३, कात्तिक । रुद्र महायज्ञ समितिले कोरोना महामारीको शान्ति र विश्व कल्याणको लागि यही कार्तिक ४ गतेदेखि १३ गतेसम्म पशुपतिनाथ मन्दिर प्रागंणमा ९ दिवसीय रामनाम संकीर्तन तथा रुद्र महायज्ञ गर्ने भएको छ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा मूल आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरेर उक्त महायज्ञ गर्न लागिएको र त्यसको सम्पूर्ण तयारीसमेत पूरा भएको जानकारी दिएको हो।
समितिका अनुसार यही कात्तिक ३ कलश यात्राको आयोजना गरिएको छ। श्री श्री १०८ श्री स्वामी जगत नन्दन दास जी महाराज (पगला बाबा) को संकल्पमा उक्त महायज्ञ हुन लागेको हो।
कार्यक्रममा बोल्दै श्री श्री १०८ श्री स्वामी जगत नन्दन दास जी महाराज (पगला बाबा) ले विश्वका सबैलाई शान्ति राख्नको लागि महोत्सवको आयोजना गरेको जानकारी दिए । बाबाले विश्वभरि अहिले अशान्ति हुँदै गएको भन्दै त्यसलाई रोक्नको लागि आफूहरुले महायज्ञको आयोजना गरेको पनि विश्वास दिलाए।
त्यस्तै, मूल समारोह समितिका उपाध्यक्ष कामेश्वर झाले विश्वभर कोरोना महामारीको अन्त्य गर्नलाई महायज्ञको आयोजना गरेको बताए। उपाध्यक्ष झाले कात्तिक ३ गते कलश यात्रा, ४ गते यज्ञ शुभारम्भ भएर कार्तिक १३ गतेसम्म महायज्ञ चलिरहने जानकारी दिए।
उनले हिन्दु धर्मालम्बी तथा अन्य सबैलाई परिवारको सदस्य, आफन्त, छर–छिमेक, नाता÷गोतासहित सहभागी भई पुण्य कमाउन समेत अनुरोध गरेका छन्। पशुपति विकास कोषले आफुहरुलाई धेरै सहयोग गरेको उनको भनाई थियो। ९ दिनसम्म चल्ने महायज्ञको बारेमा प्रचारप्रसार गरेर सहयोग गरिदिन पनि उनले मिडियासँग अपेक्षा राखेका छन्।