काठमाडौं : मंसिर महिनादेखि विद्युत्को नयाँ महसुल दर लागू हुने भएको छ। मंसिरदेखि लागू हुने गरी नयाँ विद्युत् महसुल दर लागू गरेको विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिए।
उनले विपन्न नागरिकलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँ मात्र लाग्ने निर्णय गरिएको बताए। यसबाट करिब २२ लाख ग्राहकले लाभ लिने आयोगले जानकारी दिएको छ।
आयोगले सिंगल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका गार्हस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्क क्रमशः १००, १२५ र १५० रुपैयाँ कायम गरेको छ। त्यस्तै आयोगले मासिक ४ सय युनिटमाथि विद्युत् खपत गर्ने उपभोक्ताको इनर्जी शुल्कमा प्रतियुनिट १ रुपैयाँ घटाएको छ।
आयोगले आन्तरिक रूपमा विद्युत् खपत बढाउन सिंगल फेजबाट आपूर्ति लिई मासिक १५१ युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्ताका लागि विद्युतीय चुलो जस्ता घरायसी उपकरणको प्रयोगलाई प्रोत्साहन गर्न महसुल दर कम गरेको छ। त्यस्तै सिँचाइका ग्राहकको महसुल दर पनि घटाएको छ।
आयोगले व्यवसाय सञ्चालनका लागि ४ सय भोल्टको थ्री फेजको लाइन लिने घरायसी वर्गका ग्राहकले प्रतियुनिट वर्षामा १०.५० र हिउँदमा ११.५० रुपैयाँ तिर्नुपर्ने छ। यसअघि चार सय युनिटसम्म खपत गरेमा ११.५० रुपैयाँ र चार सय युनिटभन्दा बढी माथि खपत गरे १२ रुपैयाँ लाग्थ्यो।