नुवाकोट, १७ कात्तिक । वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले रणनैतिक महत्वको टोखा छहरे सुरुङ मार्गलाई आफ्नै कार्यकालमा शिल्यान्यास गरी निर्माण प्रारम्भ गर्न अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराउनुभएको छ ।
नुवाकोटको ककनीमा वडा कार्यालय भवन उद्घाटन गर्न पुग्नुभएका अर्थमन्त्री शर्मालाई उपसभामुख तामाङले मन्त्री शर्माप्रति जनताको ठूलो आशा र भरोसा रहेको भन्दै यो सुरुङ मार्ग उहाँकै नेतृत्वमा निर्माण होस भन्ने आम जनताको चाहना रहेको बताउनुभएको हो ।
तत्कालीन प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा उज्यालो नेपाल अभियानलाई सफल पारी मुलुकलाई अन्धकारमुक्त बनाउन मन्त्री शर्माले खेल्नुभएको भूमिका नेपाली जनताले कहिलै नबिर्सेको भन्दै राष्ट्रिय गौरबको उक्त सुरुङ मार्गको निर्माण हुँदा मन्त्री शर्मा र माओवादीप्रति जनताको विश्वास अझ बढेर जाने औंल्याउनुभयो ।
शर्मा उर्जामन्त्री हुँदा कुलमान घिसिङजस्तो सक्षम व्यक्तिलाई पहिचान गरी सही भूमिका दिंदा देशले सही परिणाम पाउन सकेको भन्दै उपसभामुख तामाङले अवको दिनमा पनि नेपाली जनताले त्यस्तै परिणाममुखी कार्यको आशा गरेको भनाई राख्नुभयो ।