नुवाकोट, २६ कात्तिक । नेपाली कांग्रेस यतिबेला पार्टीको आन्तरिक निर्वाचनमा व्यस्त छ । १४ औँ महाधिवेशनका लागि पार्टीको वडा तहबाट कांग्रेसले निर्वाचन सुरु गरेको हो ।
पार्टीभित्र प्रतिस्पर्धी क्षमताको विकासका लागि पनि आन्तरिक निर्वाचनले महत्वपूर्ण भूमिका खेल्छ । वडा र गाउँ नगर तहको निर्वाचन सम्पन्न भइसकदा क्षेत्रको निर्वाचन पनि नजिकमा छ ।
यसका लागि कांग्रेसीजन उमेद्वारी घोषणा र चुनावी प्रचारमा लागिरहेका छन् । पार्टीभित्र युवा पुस्ताको पकड हुनुपर्छ भन्ने मान्यताका आधारमा धमाधम उमेद्वारी घोषणा भइरहेका छन् ।
नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र ‘ख’ को उपसभापतिका लागि युवा नेता कृष्ण गुरुङ ( किसन लाहुरे) ले उम्मेद्वारी घोषणा गरेका छन् ।राम्रो काम गर्ने जो कोहिलाई समर्थन गर्दै गलतलाई गलत भन्दै सदैव विरोध गर्न तथा काङ्ग्रेस नेतृत्वमा युवाको दावेदारी हुनुपर्छ भनेर नै आफूले उम्मेदवारी दिएको गुरुङले बताए ।
नेपाल प्रजातान्त्रिक महासंघ नुवाकोट कोषाध्यक्ष समेत रहेका युवा व्यवसायी गुरुङले नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र ‘ख’ मा अतामसिङ तामाङको प्यानलमा उपसभापतिका लागि उमेद्वारी दिएका हुन् ।