नुवाकोट, २६ कात्तिक । पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध नेकपा एमाले सम्बद्ध युवा संगठन राष्ट्रिय युवा संघ नेपालले नुवाकोटको सदरमुकाम विदुरमा प्रदर्शन गरेको छ ।
राष्ट्रिय युवा संघ नेपालका युवा नेताहरुले विदुरमा शुक्रबार प्रदर्शन गरेका हुन् । उनिहरुले पेट्रोलियम ग्याँसको दिन प्रतिदिन भईरहेको मुल्य वृद्धिको विरुद्धको विरोध प्रदर्शन गरेका हुन् ।
सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाउँदा सर्वसाधारण जनता मारमा परेकाले तत्काल मूल्यवृद्धि फिर्ता लिनु पर्ने आफूहरुको माग रहेको राष्ट्रिय युवा संघ नेपाल नुवाकोटका संयोजक प्रज्वल सापकोटाले जानकारी दिए । सरकारले पछिल्लो पटक बुधबार पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ। मूल्य वृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ पुगेको छ। त्यस्तै मट्टीतेल र डिजेलको मुल्य १ सय १९ रुपैयाँ प्रतिलिटर पुगेको छ।
उक्त विरोध कार्यक्रमको नेतृत्व राष्ट्रिय युवा संघ नुवाकोट कमिटिका अध्यक्ष प्रज्वल सापकोटा र अनेरास्ववियु जिल्ला कमिटिका अध्यक्ष बिस्णुहरि रिमाल (सत्य) ले गरेका थिए ।