नुवाकोट, २९ कात्तिक । भारतको सहयोगमा गोरखा र नुवाकोटमा ५० हजार घरको पुनर्निर्माण भएको छ। भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य सी खम्पाले २०७२ सालको भूकम्पले क्षति पुर्याएका गोरखा र नुवाकोटका घरमध्ये ५० हजार घर भारतको सहयोगमा पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएकी हुन्।
भारतको सहयोगमा ५० हजार घर पुनर्निर्माण सम्पन्न भएको अवसरमा नेपालस्थित भारतीय दूतावासले राजधानीमा कार्यक्रमसमेत गरेको थियो। कार्यक्रममा उपप्रमुख खम्पाले भारत सरकारले प्रतिबद्घता जनाएअनुरुप ५० हजार निजी घरहरुको पुनर्निर्माण कार्य गरिएको बताइन्। उनले नेपाल सरकारले अपनाएको घरधनी लक्षित पुनर्निर्माण पद्धतिअनुसार ती घर पुनर्निर्माण भएको जानकारी दिइन्।
गोरखा र नुवाकोटका चार नगरपालिका र चौध गाउँपालिकाका भूकम्प प्रभावित लाभग्राहीलाई सामाजिक–प्राविधिक सहजीकरण तथा परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले सन् २०१८ मार्चमा भारत सरकारले युएनडिपी र युएनओपिएसलाई उक्त परियोजनामा संलग्न गराएको थियो। एकसय मिलियन अमेरिकी डलर अनुदान र चौथो लाइन अफ क्रेडिटअन्तर्गतको ५० मिलियन अमेरिकी डलरसहित ५० हजार घरको पुनर्निर्माणका लागि आर्थिक र प्राविधिक सहयोग प्रदान गर्न आवास क्षेत्रमा भूकम्पपछिको सहायता प्याकेजको रुपमा भारत सरकारले १५० मिलियन अमेरिकी डलरको प्रतिबद्घता जनाएको भारतीय दूतावासले उल्लेख गरेको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, युएनडिपी र युएनओपिएससँग सहकार्य गर्दै परियोजनाबाट सिकेका पाठ/अनुभव र आगामी दिनबारे एक कार्यशालाको आयोजना गरिएको थियो। दूतावासका अनुसार निजी आवास पुनर्निर्माण परियोजनालाई प्रभावकारी ढङ्गले सफलतापूर्वक सम्पन्न गर्न स्थानीय सरकार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निकायहरूले खेलेको निर्णायक भूमिकालाई कदर गर्ने उद्देश्यले परियोजनासँग सम्बन्धित प्रमुख सरोकारवालाहरुको सहभागितामा कार्यशाला आयोजना गरिएको थियो।
कार्यशालामा उत्कृष्ट अभ्यासहरूबारे जानकारी दिनुका साथै परियोजनाबाट सिकेका मुख्य सिकाइहरू सहभागीहरुसमक्ष साटासाट गरिएको थियो। कार्यशालामा स्थानीय सरकारलाई मार्गदर्शन र भविष्यमा उपयोगी हुनसक्ने परियोजनाको प्रभावकारिताको बारेमा सामूहिक छलफल गरिएको थियो।
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, गोरखाको पालुङटार नगरपालिकाका मेयर, नुवाकोटको विदुर नगरपालिकाका उपमेयर, एनडिआरआरएमएका प्रतिनिधि, नेपाल सरकारका विविध निकायहरु, युएनडिपी, युएनओपिएस, ईयु, युएसएआइडि, वल्र्ड बैंक, एडीबी, जाइका, एफएनसिडिओ तथा सम्बन्धित नगरपालिका/गाउँपालिका प्रतिनिधिहरुको उपस्थिति थियो।
२०७२ सालको भूकम्पबाट प्रभावित नेपालका कूल ११ जिल्लामा ७१ वटा शिक्षाको क्षेत्रसँग सम्बन्धित परियोजना, १३२ वटा स्वास्थ्य भवन तथा २८ वटा सांस्कृतिक सम्पदा स्थलको पुनःस्थापना/प्रबलीकरणका लागि भारत सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग मिलेर काम गरिरहेको छ।