नुवाकोट, १४ मंसिर । जिल्लाको शिवपुरी गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर १४७ जना नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् ।
माओवादी केन्द्र शिवपुरी गाउँ संगठन कमिटीको सम्मेलन उद्घाटन सत्रमा सोमबार १४७ जना पार्टी प्रवेश गरेकाे माओवादी केन्द्र शिवपुरीका अध्यक्ष वीरबहादुर तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार पार्टी प्रवेश गर्नेहरुमा कांग्रेसबाट जनजाति संघ शिवपुरीका अध्यक्ष तथा गत स्थानीय तह निर्वाचनमा वडा सदस्यको प्रत्यासी दावा छिरिङ लामालगायत ७० जना, एमालेबाट गत स्थानीय तह निर्वाचनमा महिला वडा सदस्य प्रत्यासीद्वय डल्लीमाया तामाङ र रिता तामाङ, पूर्ववडाध्यक्ष जब्बरसिंह तामाङलगायत ४५ जना रहेका छन् ।
त्यस्तै, राप्रपाबाट दुई पटक वडाध्यक्षमा निर्वाचित लोकबहादुर तामाङ लगायत १५ जना र स्वतन्त्र १७ जना छन् । नवप्रवेशीलाई सम्मेलनका प्रमुख अतिथि एवं पूर्वमन्त्री हितबहादुर तामाङले स्वागत गर्नुभएको थियो । माओवादी सम्मेलनले पालिकास्तरीय नयाँ कार्यसमिति समेत चयन गर्नेछ ।

घ्याङफेदीमा कांग्रेस र एमाले परित्याग गरी १ सय २५ जना माओवादी केन्द्रमा प्रवेश –
आर्थिक, राजनीतिक, शैक्षिक दृष्टिले पिछडिएको गाउँ घ्याङफेदीमा शुक्रबार माओवादी केन्द्रको वडा सम्मेलनको अवसरमा कांग्रेस र नेकपा (एमाले) पार्टी परित्याग गरी १ सय २५ जना माओवादीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा एमालेबाट वडाध्यक्षका प्रतिस्पर्धी कर्मजीत तामाङदेखि अधिकांश कांग्रेसका क्रियाशील सदस्य रहेको माओवादीले जनाएको छ ।
कांग्रेसका क्रियाशील सदस्यहरु करचुङ तामाङ, जितबहादुर तामाङ, सन्चमान तामाङ, जयराम तामाङलगायत परित्याग गरी माओवादीमा प्रवेश गर्नुभएको छ भने एमालेबाट कर्मजीतसहित मिनबहादुर तामाङ, वडा सदस्यका प्रतिस्पर्धी सुकुमान तामाङलगायत रहनुभएको छ ।
पार्टी प्रवेश गर्ने सबैलाई संघीय सांसद् तथा पूर्वमन्त्री हितबहादुर तामाङले अबीर र खादा लगाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद् तामाङले आफूले घ्याङफेदीवासीको विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको कारणले आज घ्याङफेदीवासीको माया पाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विगतमा मलाई घ्याङफेदीवासीले भोट नदिँदा पनि मैले चित्त दुखाइनँ, हामीले माया गरेपछि तपाईंहरुले पनि माया गर्नु हुँदोरहेछ, हामीले आफन्त सम्झेपछि तपाईंहरुले पनि आफन्त सम्झिनु हुँदोरहेछ ।’ उहाँले अबको दिनमा सबै एक ठाउँमा रहेर घ्याङफेदीको विकासमा लाग्नु पर्ने र आफू पनि लागिरहने आश्वासन दिनुभयो ।