काठमाडौं, १६ मंसिर । नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले बागमती प्रदेश पार्टी सभापतिको उम्मेदवारी घोषणा गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर प्रधानले उम्मेदवारी घोषणा गरेका हुन् ।
‘म बागमती प्रदेशको पार्टी नेतृत्व हाँक्ने क्षमता राख्छु त्यसैले उम्मेदवारी घोषणा गर्छु,’ प्रधानले भने, ‘म पार्टीका साथीहरुसँग निकै घुलमिलमा छु त्यसैले समर्थन पाउँछु ।’ उनले आफूलाई सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको साथ रहेको समेत बताएका छन् । देउवा र सिटौलाले कुरा गरेर आफूलाई बढाएको दाबी उनको छ ।
आफूले निष्ठाको राजनीति गर्दै आएको बताउँदै प्रधानले भने, ‘म निष्ठाको राजनीतिबाट डग्दिनँ । यसकारण पनि साथीहरुको माया र मत पाउँछु ।’ गणेशमान सिंहको शालिकअगाडि शान्तिबाटिकामा उभिएर आफूले उम्मेदवारी दिने घोषणा उनले गरेका छन् ।
प्रधानले बागमती प्रदेशका सभापतिका आकांक्षी इन्द्र बाँनियासँग पनि आफूले कुराकानी गरेको बताए । आफूलाई बाँनियाले छाड्ने विश्वास व्यक्त गरे । उनले भने, ‘इन्द्र बाँनिया र मेरोबीच कुराकानी भएको छ । आशा छ उहाँले मलाई छाड्नुहुने छ ।’
आफू काठमाडौं उपत्यकाको स्थानीय भएको र बागमती प्रदेशका २ हजार १४५ मतमध्ये झण्डै आधा मत यहीँ भएकाले जित्ने आधार भएको तर्क उनको छ । पार्टीमा सहमति, सहकार्य र एकताको खाँचो भएको स्मरण गराउँदै त्यसमा आफूले भूमिका खेल्ने बताए ।
‘उत्साह, एकता, रुपान्तरण : सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ कांग्रेसको केन्द्रीय महाधिवेशन यही मंसिर २४ गते काठमाडौंमा उदघाटन हुने छ ।
२५ गते मनोनयन दर्ता, २६ गते उम्मेदवारको अन्तिम सूची प्रकाशन र २७ गते मतदान गर्ने कार्यतालिका बनाइएको छ ।