काठमाडौं, १९ मंसिर । दक्षिण अफ्रिका भएर फैलिएको कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन दक्षिण छिमेक भारतमा समेत देखिएको छ । ओमिक्रोन संक्रमण भारतमा देखिएकाले आवश्यक सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन भारतमा संक्रमण देखिएकाले रोकथामको आवश्यक तयारी गर्नुपर्ने बताउँछन् । त्रसित हुने भन्दा पनि आवश्यक तयारी गर्नुपर्ने उनको तर्क छ । “भारतमा यो संक्रमण फैलियो भने नेपालमा कुन नाकाबाट भित्रन्छन् भन्ने प्रष्ट हुँदैन । त्यसैले आवश्यक तयारी आवश्यक छ”, पुन भन्छन् । सरकारले तेस्रो मुलुकबाट आउने नागरिकमा कडाइ गरेपनि स्थलगत सीमानाकाबारे केही निर्णय गरेको छैन । तर जनस्वास्थ्य विद्हरु भने आवश्यक तयारीमा ढिलाइ गर्न नहुने बताउँछन् । यसअघि पनि नेपालले आवश्यक तयारी नगर्दा समुदाय तहमा संक्रमण फैलिएको थियो ।
यसपटक त्यस्तो गल्ती नगर्न सरोकारवालाहरु बताउँछन् । सरकारले भने नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएको अफ्रिका सहितका ९ मुलुकबाट आउने यात्रुलाई रोक लगाएको छ । शनिबारबाटै नेपाल प्रवेशमा अनुमति नदिने निर्णय सरकारले गरेको हो ।
गएको १३ मंसिरको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्वाब्वे, नामिवीया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको थियो ।
भारतमा शुक्रबार मात्र ओमिक्रोन भेरियन्ट फेला परेको जनाइएको छ ।सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले विदेशबाट नियमित खोप आउन थालेपछि खोप आवश्यक पर्ने सबैलाई लगाउने जनाएको छ । सरकारले सबै नागरिकलाई कोभिड–१९ खोप निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले दैनिक दुई लाख जनालाई खोप लगाउने गरी आवश्यक सबै तयारी पूरा भएको बताए । अहिलेसम्म नेपालमा दुई करोड ७३ लाख ५६ हजार ५३० मात्रा खोप आइसकेको छ । तीन करोड ५० लाख खोप आउने क्रममा छ । अहिलेसम्म एक करोड ८८ लाख ६२ हजार २१६ जनाले खोप लगाइसकेका छन् ।
तीमध्ये एक करोड दुई लाख ४८ हजार ३६९ पहिलो मात्रा र ८६ लाख १३ हजार ८४७ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।सरकारले पुस मसान्तभित्र कूल लक्षितको दुई तिहाई र चैतमसान्तसम्म लक्षित सबै नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । सरकारले खरिद गरेर र कोभ्याक्स सुविधामार्फत दैनिक खोप ल्याइरहेको छ ।सरकारले बालबालिका खोप लगाउनका लागि मोडर्ना र फाइजर ल्याउने अन्तिम तयारीमा गरेको छ । फाइजर खोप एक लाख मात्रा आइसकेको छ ।