काठमाडौं, २१ मंसिर । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकाले उपभोक्ता समितिमार्फत गरिने वडास्तरका योजना तत्काल सम्झौता गराउन आग्रह गरेको छ । हतार–हतारमा जेठ–असार (बर्षा) मा विकास निर्माण र अन्य काम गर्दा बजेट खेर गएको भन्दै पालिकाले चालु आर्थिक वर्षदेखि नै त्यसलाई सच्याउने प्रयास थालेको हो ।
प्रशासकीय अधिकृत अशोक विष्टले मंगलबार सूचना जारी गर्दै वडास्तरका योजनाहरुको उपभोक्ता समितिसमेत गठन गरी यथाशक्य छिटो सम्झौताका लागि गाउँपालिकामा पठाउन अनुरोध गर्नुभएको हो ।
गाउँपालिकाबाट आव २०७८/०७९ का लागि गाउँसभाबाट स्वीकृत उपभोक्ता समितिमार्फत गरिने विकासका योजनाहरु २०७८ फागुन मसान्तभित्र सम्झौता गरी सम्पन्न गरिसक्ने भनी गाउँ कार्यपालिकाको यही मंसिर १७ गतेको बैठकमा सर्वसम्मत निर्णय भएको समेत प्रमुख प्रशासकीय अधिकृत विष्टले जानकारी गराउनुभएको छ ।
उपभोक्ता आफैं सामेल हुँदा विकास निर्माण गुणस्तरीय हुने र बजेट खेर नजाने मान्यताविपरीत काम भएपछि पालिकाले नयाँ कदम चालेको हो ।
पञ्चकन्या गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत आइसकेपछि योजनाका कार्यहरु समयमै पुरा गर्न निर्देशन भइसकेको छ ।