हेटौंडा, २२ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेशको प्रथम अधिवेशनमा बाबुराम भट्टराईको जनता समाजवादी पार्टीका बागमती प्रदेश सभासद प्रेम तामाङ नेपाली कांग्रेसको रसुवाबाट महाधिवेशन प्रतिनिधि भई मतदानमा सहभागी भएको पाइएको छ ।
हेटौंडाको वन विज्ञान अध्ययन संस्थान प्रतिष्ठानको प्राङ्गणमा शनिबार कांग्रेसको बागमती प्रदेश अधिवेशनअन्तर्गत मतदान भइरहेको थियो । प्रदेशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरू भोट हाल्न राजधानी हेटौँडा निस्केका थिए । तिनै प्रतिनिधिमध्ये एक थिए जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रेम तामाङ ।
साँझ ५ बजेतिर टोपी र मास्कले अनुहार आंशिक ढाकेर मतदानस्थल छिरेका उनी छिटोछिटो भोट हालेर निस्किहाले । प्रेम तामङसँगै उनकी धर्मपत्नी जसपाकी नेतृसमेत मतदानमा सहभागी भएकी थिइन् ।
२०७४ सालको चुनावमा उनी नयाँ शक्ति पार्टीको टिकटमा रसुवा ‘क’ बाट निर्वाचित भएका थिए । नयाँ शक्ति र अन्य पार्टीबीच एकतापछि बनेको जसपाका लागि अहिले बागमती प्रदेशका एक्ला सांसद हुन् उनी ।
गत मंगलबार रसुवाबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा चुनिएको प्रमाणपत्र पनि उनले गुपचुप बुझेका थिए । प्रदेश अधिवेशनमा भोट हाल्न पनि उनी सुटुक्क मतदानस्थल छिरेका हुन् ।
‘मतदान भइरहेको ठाउँमा उहाँ साँझ ५ बजेतिर आउनुभयो । भोट हालेर फर्किहाल्नुभयो’, रसुवा ‘ख’बाट निर्वाचित सांसद एवं बागमती प्रदेशमा कांग्रेस संसदीय दलका प्रवक्ता प्रभात तामाङले भने ।
पहिलो चरणमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत नपाएपछि हिजो दोस्रो चरणमा मतदान भयो । ‘दोस्रो चरणको मतदानमा पनि उनले भाेट हाल्नुभयाे’, प्रभात तामाङले भने ।
प्रेम तामाङ कांग्रेस सभापति शेरबहादुर देउवा पक्षमा छन् । बागमती प्रदेशमा अहिले देउवा समूहकै उम्मेदवार इन्द्र बानियाँले चुनाव जितेका छन् ।
कांग्रेस प्रदेश अधिवेशनकै कारण बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । स्रोतका अनुसार कांग्रेसले प्रेम तामाङलाई राज्यमन्त्री बनाउने तयारी गरेको छ ।
बागमती प्रदेशसभा सचिव कृष्णहरि खड्काका अनुसार आधिकारिक रूपमा प्रेम तामाङ जसपाकै सांसद हुन् । तर, उनले ‘पार्टी छोडेँ’ भन्न मात्र बाँकी छ । कांग्रेसकै एक नेताका अनुसार गुपचुप कांग्रेस पसेर उनले आगामी प्रदेशसभामा दोहोरिन टिकट नै पक्का गरिसकेका छन् ।यसबारे तामाङ सार्वजनिकरूपमा केही बोल्न मान्दैनन् । किनकि, आफ्नो पार्टीको सांसद अर्कैं पार्टीका लागि सक्रिय भएको थाहा पाए जसपाले उनलाई कारबाही गर्न सक्छ । यसाे भए सांसद पद नै गुम्न सक्ने भएकाले उनी खुलेका छैनन् ।