काठमाडौं : कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्र केही समयमा हुँदैछ। देशभरबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौंको भृकुटीमण्डपमा आइसकेका छन्। कांग्रेस नेता तथा अन्यदलका नेताहरु महाधिवेशनस्थलमा आउनेक्रम जारी छ। भृकुटीमण्डपसहित उपत्यकाका सडक किनारा चारतारे झन्डाले सजाइएको छ।
महाधिवेशनस्थल पार्टीका झण्डा र चुनाव चिह्न रुख अङ्कित झण्डाले सिँगारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागत द्वार राखिएको छ। त्यसैगरी महाधिवेशनका उम्मेदवारका ब्यानरले भृकुटीमण्डप भरिभराउ छ। यस महाधिवेशनमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहनेछन्।
त्यसैगरी पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशनको उम्मेदवार मनोनयन दर्ता मङ्सिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२:१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।
कांग्रेस विधानमा सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र १ जना कोषाध्यक्ष मनोनित गरी १४ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ । केन्द्रीय सदस्यहरू खुलातर्फ ३५ जना, विभिन्न समावेशी समूह र पिछडिएको क्षेत्रतर्फ ६५ जना र ७ प्रदेशबाट १/१ महिलासहित २१ जना आउने छन्। कांग्रेसको विधानमा उपसभापति, महामन्त्री र केन्द्रीय सदस्यमा खुलातर्फको छुट्टै कोटा भए पनि सहमहामन्त्रीमा खुलातर्फ कोटा छुट्याइएको छैन।