काठमाडौं, १ पुस । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट फेरि शेरबहादुर देउवा सभापति निर्वाचित भएका छन् । १३औं महाधिवेशनमा रामचन्द्र पौडेललाई पराजित गर्दै सभापति बनेका देउवाले डा.शेखर कोइरालालाई पराजित गरेका छन् । सभापति निर्वाचित भइरहँदा देउवाले २,७३३ मत पाए भने कोइरालाले १,८५५ मत पाए । पहिलो चरणको नतिजामा भनेदेउवाले २,२५८ र कोइरालाले १,७०२ मत पाएका थिए । तर पहिलो चरणको प्रतिश्पर्धाबाट बाहिरिएका प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङको समर्थन पाउँदा देउवा मतान्तर बढाउदै सभापति चयन भए । अबको चार वर्ष देउवाले काँग्रेसको नेतृत्व गर्नेछन् । अर्थात् देउवाले अर्को महाधिवेशन समयभित्रै गर्दापनि उनको उमेर ८१ पुग्नेछन् । पार्टीभित्र युवाको उपस्थिति बढिरहेको काँग्रेसलाई बृद्ध नेता देउवाले सशक्त बनाउनुपर्ने चुनौती छ ।
कम्युनिष्ट टुटफुटबाट गुज्रिएका कारण प्रधानमन्त्री बन्न सफल देउवाले आगामी वर्ष हुने निर्वाचनबाट पार्टीलाई पहिलो बनाउने घोषणा गरेका छन् । एकपटक नेतृत्वमा दोहोरिने प्रयोजनमा पनि देउवाले काँग्रेसलाई पहिलो शक्ति बनाउनु रहेको बताएका थिए । २४ मंसिरमा महाधिवेशन उद्घाटन गरिरहँदा पनि देउवाले आफू चुनावी प्रधानमन्त्री रहेकाले सभापतिमा दोहारिन आवश्यक रहेको बताएका थिए । नभन्दै नतिजा पनि देउवाकै पक्षमा आयो । त्यसका निम्ति उनले आफूलाई छोडेर सभापतिमा प्रतिश्पर्धा गरेका निधि देखि इतर समूहबाट उम्मेद्वारी दिएका सिंह र गुरुङलाई समेत साथ लिए । एकअर्थमा देउवाले नेता पुत्रको बिरासत बोकेका नेताहरुको साथ पाएका छन् । महाधिवेशन अगाडि नै देउवाले १३औं महाधिवेशनमा आफूसँगै सभापतिका प्रत्यासी रहेका कृष्णप्रसाद सिटौलासँग सहकार्य गरेका थिए ।
अतः देउवा सभापतिमा निर्वाचित भइरहँदा उनी अलग–अलग मोर्चाका नेता बन्न पुगेका छन् । शेखरले नेतृत्व गरेको समूह त देउवाको निम्ति कार्यकालभर चुनौती बन्ने नै छ । शेखरले नयाँ ढंगले राजनीतिक गर्ने उद्घोष गरेर पनि देउवालाई सजिलो नरहेको संकेत दिइसकेका छन् । तर त्यो भन्दा पनि आफूलाई सभापति बन्न सहयोग गरेका नेताहरुको व्यवस्थापन देउवाका निम्ति सजिलो छैन । आउने वर्ष देउवाले जति समन्वय अरु नेताले गर्नुपर्ने छैन । पाँच दलीय गठबन्धनलाई कायम राख्दै सरकार टिकाउन र मोर्चामोर्चामा विभक्त नेताहरुलाई मिलाएर पार्टीलाई आगामी निर्वाचनमा पहिलो दल बनाउनु सजिलो छैन । तर यी चुनौती सामना गर्दै पार्टीलाई बलियो बनाउनुको अर्को विकल्प पनि देउवासँग छैन ।