नुवाकोट, २ पुस । रुडेक नेपाल र रुम टु रिडको सहकार्यमा नुवाकोट जिल्लाको सरकारी विद्यालयहरुमा सञ्चालित साक्षरता कार्यक्रम स्वयं विद्यालयलाई नै हस्तान्तरण गरिएको छ ।
कार्यक्रम लागु भएका विद्यालय र संस्थाबीच भएको ३ बर्षको सम्झौता अनुसार काम भइसकेको र आगामी दिनमा सम्पूर्ण कार्यक्रम विद्यालय आफैंले सञ्चालन गर्ने गरि विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

त्यस्तै, परियोजना र सम्झौता अनुसार समय पुरा भएपछि नुवाकोटको विदुर नगरपालिका स्थित चण्डेश्वरी माध्यमिक विद्यालयलाई पनि शुक्रबार कार्यक्रम हस्तान्तरण गरिएको हो ।
रुम टु रिड र रुडेक नेपालले साक्षरता कार्यक्रम लागु भएका विद्यालयका प्रधानाध्यापकहरुलाई तालिम समेत प्रदान गरेको थियो ।

सम्झौता अनुसार ३ वर्षमा संस्थाले हस्तान्तरण गर्नैपर्ने कुरा उल्लेख भएको कारण सम्पूर्ण शिक्षकहरुलाई सक्षम बनाई प्रयाप्त तालीम दिएर कार्यक्रमको नियम अनुसार हरेक क्रियाकलापमा दक्ष बनाएर हस्तान्तरण गरिएको हो ।
साक्षरता कार्यक्रम आधारभुत तहका नानिबाबुको पढ्ने सिप र बानीको विकास गरि आत्मनिर्भर स्वतन्त्र पाठक बनाउने कार्यक्रम हो ।
सन् २०१८ परियोजनामा नुवाकोटका ३० वटा सरकारी विद्यालयहरु यस वर्ष साक्षरता कार्यक्रम सञ्चालनको सफल ३ वर्ष पार गरि हस्तान्तरणको अवधिमा रहेको छ ।

उक्त कार्यक्रम नुवाकोटको ग्रामीणदेवि माध्यमिक विद्यालय, चण्डेस्वरि माध्यमिक विद्यालय, भमरा आधारभूत विद्यालय, रक्तकालि आधारभूत विद्यालय, जानकि माध्यमिक विद्यालय, मुकुन्देस्वोरि माध्यमिक विद्यालय, जालपादेवि आधारभूत विद्यालय, न्युचन्डिकादेवि माध्यमिक विद्यालय, लगायत ३० वटा विद्यालयमा सञ्चालित छ ।
यसरी ३० वटा विद्यालयमा सञ्चालित कार्यक्रम केहि विद्यालयलाई हस्तान्तरण गरिसकिएको छ भने केहि विद्यालयलाई हस्तान्तरण गर्न बाँकी रहेको छ ।

साक्षरता कार्यक्रम दिगोपनका निमित्त प्र.अ. तथा पुस्तकालय ब्यवस्थापकहरुलाई महत्वपूर्ण सीप र सिकाई सहितको तालिम समेत संस्थाले सञ्चालन गरेको थियो ।
रुम टु रिड,रुडेक नेपाल र शिक्षा समन्वय इकाइकोको समन्वयमा कक्षा १ र २ को अभ्यास पुस्तकमा आधारित विषयबस्तुबारे केन्द्रित गरी साक्षरता कार्यक्रम सञ्चालित ३० वटा सामुदायिक विद्यालयका प्र.अ.हरुसँग साक्षरता कार्यक्रम समिक्षा तथा दिगोपना सम्बन्धि एकदिने प्र.अ. बैठक कार्यक्रम र पुस्तकालय र सहपुस्तकालय ब्यवस्थापकहरुको २∕२ दिने पुस्तकालय ब्यवस्थापन तालिम समेत संस्थाले गरेको थियो ।
