• २५ आश्विन २०८३, आईतवार

विश्वमै दुर्लभ हङरायो चरा नेपालमा भेटियो

काठमाडौं : विश्वमै दुर्लभ अवस्थामा रहेको चरा ‘हङरायो’ इलाममा भेटिएको छ। चरा खोजकर्ता देवेन खरेलले सूर्योदय नगरपालिका वडा नम्बर १ मा उक्त चरा फेला पारेका हुन्।

खरेलले एक जोडी भाले ‘हङरायो’ फेला पारेका हुन्। धनेश समूहभित्र पर्ने हङरायो सुन्दर पंक्षी रहेको खरेलले बताए। नेपालीमा हङरायो नामले चिनिने उक्त पंक्षीको वैज्ञानिक नाम ‘रुफस नेक्ड हर्नबिल’ हो। चरा विज्ञकाअनुसार नेपालमा डेढ सय वर्षयता उक्त चरा देखिएको थिएन।

पहिले यसको अस्थित्व हुँदा पनि फोटोग्राफी प्रमाण थिएन। डेढ सय वर्षयताकै यो पहिलो रेकर्ड रहेको खरेलले दावी गरेका छन्। पहिले उक्त चरा नेपालमा भए पनि प्रविधिको पहुँच नपुग्दा क्यामेरामा कैद हुन नसकेको जनाइएको छ।

इलामको सूर्योदय नगरपालिका १ को सिमधाम भन्ने ठाउँको १०० मिटरमा उक्त चरा भेटिएपछि उक्त क्षेत्रमा अन्य प्रजातिका चरा पनि फेला पार्न सकिने अनुमान गरिएको छ। हर्कटे कन्यामलगायतका क्षेत्रमा समेत केही समय अघि दुर्लभ चरा फेला पारेका खरेलले आफनो चाहना नै चरा खोज्ने भएको बताए।

खरेलले यसअघि नेपालका लागि दुर्लभ चरा हरित परेवा भेटेर रेकर्ड राखेका थिए। सुन्दर देखिने उक्त चरा चुच्चोदेखि पुच्छरसम्म लम्बाइको चार फिटसम्म हुने गरेको छ।