नुवाकोट,७ पुस । नुवाकोटमा ग्रामीण विकास तथा शसक्तिकरण केन्द्र नेपाल (रुडेक) द्वारा सञ्चालित साक्षरता कार्यक्रमले सफलता प्राप्त गरेको छ । कार्यक्रम सञ्चालन भएका सबै विद्यालयहरुमा सफल रुपमा कार्यक्रम सम्पन्न गरेर स्वयं विद्यालयलाई नै हस्तान्तरण गरिएको हो ।

जिल्लामा सन् २०१८ मा रुम टु रिड/पढनाको लागि कोठाको आर्थिक तथा प्राविधिक सहयोग,शिक्षा विकास तथा समन्वय इकाईको समन्वयमा स्थानीय साझेदारी संस्था रुडेक नेपालको सहजीकरण र व्यवस्थापनमा सुरुवात भएको साक्षरता कार्यक्रम नुवाकोट जिल्लाका ३० वटा सामुदायिक विद्यालयहरूमा साक्षरता कार्यक्रम स्थापना भइ सफलतापुर्वक साक्षरता कार्यक्रमको निर्धारित समय ३ वर्ष पुगेको अवशरमा साक्षरता कार्यक्रमलाई विद्यालय तथा समुदायकै पुर्ण स्वामित्वमा रहने गरी हस्तान्तरण भएको हो ।
मंसिर २६ बाट ३० वटा सामुदायिक विद्यालयहरूमा सञ्चालित साक्षारता कार्यक्रमलाई स्थानिय सरकारको रोहवरमा विद्यालयमै कार्यक्रमकाबीच रुडेक नेपाल र रुम टु रीड प्रतिनिधीहरुका साथमा हस्तान्तरण गरिएको हो। उक्त हस्तान्तरण कार्यक्रममा साक्षरता कार्यक्रमका गतिविधीलाई दिगो बनाउनको लागि कार्ययोजना तयार गरिएको र सोहि अनुसार अघि बढाउँदै कार्यक्रमलाई दिगो बनाउने प्रतिवद्दता स्थानिय तह तथा विद्यालय परिवारले प्रतिवेदनको साथमा सङ्स्थालाई बुझाएका छन् ।

यसै कार्यक्रममा श्री कृष्ण माद्यामिक बिद्यालयका तारुका नुवाकोटका प्र.अ. श्री माधव अधिकारी भन्छन् , – “रुडेक नेपाल र रुम टु रीडले विद्यालयलाई माछा मारे र दिएको हैन माछा मार्ने सीप दिएको छ, अर्थात साक्षरता कार्यक्रम सञ्चालन गर्ने कुशल सीप विद्यालयले पाएकोले दिगो रुपमा सक्षरता कार्यक्रम सञ्चालन गर्न सकिने छ ।”
साथै साक्षरता कार्यक्रमलाई कालन्तर सम्म जिवन्त बनाउने कुरा सबै विद्यालयहरुले बताएका छन् ।

रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग, रुडेक नेपालको व्यवस्थापन, शिक्षा विकास तथा समन्वय इकाई नुवाकोट र स्थानिय सरकारहरुसँगको सहकार्यमा नुवाकोट जिल्लामा सन् २०१८ मा ३० वटा विद्यालय र सन् २०१९ मा १८ वटा गरि जम्मा ४८ वटा सामुदायिक विद्यालयमा साक्षरता कार्यक्रम सञ्चलनमा रहेको जानकारी रुडेक नेपाल साक्षरता कार्यक्रम संयोजक फुर्वा घलेले जानकारी दिए ।

साक्षरता कार्यक्रम कक्षा १-५ का बालबालिकामा पढ्ने सीप तथा पढ्ने बानीका लागि उत्प्रेरित गर्दै स्वतन्त्र पाठकका रुपमा जीवनपर्यन्त पठन सीपको विकास गर्ने उद्देश्यका साथ सञ्चालनमा आएको हो। यसका लागि विद्यालयको भौतिक पूर्वाधार निर्माण, गुणस्तरीय पठन सामाग्री विकास, शिक्षकहरुका लागि वैज्ञानिक पद्धतिमा आधारित पाठ्यपुस्तक तथा शिक्षण विधि सम्बद्ध तालिम र पुस्तकालय स्थापना तथा सञ्चालनका कार्यहरुको जानकारी क्लबका अध्यक्ष मीन कुमार केसीले दिए ।
