• १ फाल्गुन २०८२, शुक्रबार

अमेरिकामा लक्षणविहीन कोभिड सङ्क्रमितले पाँच दिन मात्र ‘आइसोलेसन’ मा बसे पुग्ने

coronavirus nepal

काठमाडौं, १३ पुस । अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्तिका लागि ‘आइसोलेसन’को समय आधा कम गरिएको छ। सेन्टर फर डिजिज कन्ट्रोल सीडीसी ले सोमबार नयाँ निर्देशिका जारी गर्दै लक्षणविहीन सङ्क्रमितका लागि ‘आइसोलेसन’को समय १० दिनबाट घटाएर पाँच दिन बनाएको हो।

पाँच दिन आइसोलेनमा बसेपछि अरु पाँच दिन मानिसहरूको समूहमा जाँदा वा भेटघाटको क्रममा मास्क अनिवार्य रूपमा लगाउनुपर्ने सीडीसीले उल्लेख गरेको छ। नयाँ निर्देशिका बाध्यकारी नभए पनि अमेरिकाका अधिकांश व्यवसाय तथा नीति निर्माताहरूले पालन गर्ने गरेका छन्।

सीडीसीले आफ्नो पछिल्लो निर्देशिका विज्ञानमा आधारित रहेको बताएको छ। सङ्क्रमण फैलिने सम्भावना सङ्क्रमणको सुरुआती समयमा हुने भएकाले पाँच दिन मात्रै आइसोलेसनमा बसे हुने सीडीसीको भनाइ छ।

यस्तै खोप नलगाएका वा बुस्टर मात्रा नलगाएकाहरू कोरोना सङ्क्रमितसँगको सम्पर्कमा आएको अवस्थामा पाँच दिनसम्म ‘क्वारेन्टिन’मा बस्नुपर्ने र अरु पाँच दिन मास्क लगाउनु पर्ने पनि सीडीसीले उल्लेख गरेको छ। बुस्टर मात्रा लगाएकाहरूले भने क्वारेन्टिन गर्नुपर्ने छैन, तर १० दिनसम्म मास्क भने लगाउनु पर्नेछ।





प्रतिक्रिया दिनुहोस्