• २९ बैशाख २०८२, सोमबार

काठमाडौं उपत्यकामा बाक्लो हुस्सु, तापक्रम घट्यो

काठमाडौं : अहिले पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भू-भाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। ्

यसैको प्रभावको कारण देशभरको मौसम आंशिक बदली भई धेरैजसो स्थानमा हुस्सु–कुहिरो लागेको छ। दिउँसो देशभर आंशिक बदली भई गण्डकी प्रदेश र प्रदेश नम्बर १ का उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको संभावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाकाअनुसार आज देशका विभिन्न स्थानमा हिमपात हुने भएपनि वर्षाको संभावना भने न्यून छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न उपत्यका र तराई भेगमा बिहानदेखि लागेको हुस्सु/कुहिरो पनि दिउँसो हट्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए।

काठमाडौंमा बाक्लो हुस्सुका कारण आन्तरिक उडान प्रभावित भएका छन्।  भिजीविलिटी कम हुँदा आन्तरिक उडान रोकिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ। 

काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज बिहान ५ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर १४ डिग्री सेल्सियस पुग्ने महाशाखाले अनुमान गरेको छ। 





प्रतिक्रिया दिनुहोस्