काठमाडौं, २१ पुस । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २ ले आफ्नो वडामा विकास निर्माणको कामलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ ।
तारकेश्वरको अन्य वडाको तुलनामा भौगोलिक हिसाबले विकासमा पछि परेको वडा काभ्रेस्थली पछिल्लो समय आन्तरिक पर्यटन प्रवर्द्धनलाई तिव्रता दिँदै आर्थिक समुन्नतिको बाटो तर्फ अघि बढेको छ ।
पछिल्लो समय वडा नम्बर २ ले चालु आर्थिक वर्षमा लिएको योजना तथा कार्यक्रमहरुको कार्यान्वयनलाई महत्व दिँदै आफ्नो योजना अन्तर्गतको कार्यक्रम, तालिम, गोष्ठीका साथै भौतिक पूर्वाधार निर्माणको कामलाई पनि तिव्रता दिएको छ ।
थोरै बजेटका बाबजुद पनि छोटो समयमा धेरै विकास निर्माणको काम गरेको भएतापनि विकास कार्यमा आफ्नो वडामा वजेट अभाव भएको वडा नम्बर २ का वडाध्यक्ष रविन्द्र केसीले बताए ।
“वडामा विनियोजित बजेट कञ्जुस नगरिकन खर्च गर्दा पनि विकास गर्न सकिएन”, वडाध्यक्ष रविन्द्र केसीले भने, ‘ चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिँदासम्म ४० प्रतिशत बजेटको काम भइसकेको र ६० प्रतिशत बजेटको काम कार्यन्वयनको प्रकियामा रहेका छन् ।
आफू वडामा निर्वाचित भएर आएपछि समुदायबाट छनोट गरिएका र माग गरिएका प्रत्येक योजनाहरु कार्यान्वयन गतेको केसीले बताए ।
चालु आर्थिक बर्षमा स्थानिय तहको निर्वाचनलाई मध्यनजर गर्दै भौतिक पूर्वाधारहरुको लागि छुट्याइएको बजेट कार्यन्वयन प्रकियामा अगाडि बढाएको उनले बताए ।
वडाले शिक्षाको क्षेत्रमा छुट्याएको बजेट बालबालिकाहरूका साथै माइनमेडिकेसन र छात्रावृत्तिको कार्य गरेको छ ।
वडा नम्बर २ भिरालो जमिन र ठूलो भु-भागमा रहेकोले विकासको लागि भौतिक पूर्वाधारहरुको बाटोहरू गुणस्तर हुनुपर्ने भएतापनि ति कुराहरु हुन नसकेको बताए ।
उनले धेरै सडक र बाटो भन्दा पनि जति सडक बाटो र विकास को काम गरेका छन् ति सबै गुणस्तरीय र दिगो विकास अनुरुप बनाएको वडा नम्बर २ का बुद्धिजीवीहरु बताउँछन् ।
उनले आफ्नो वडाको भौगोलिक भूबनोटले विकास कार्यमा ढिलो भएतापनि विकास निर्माणको कार्य नरोकिएको बताएका छन् ।