• २५ भाद्र २०८१, मंगलवार

नुवाकोटको पञ्चकन्यामा घ्याङस्वाँरा पार्कको निर्माणले पर्यटन प्रवर्द्धन

घलेभञ्ज्याङ : नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ को उच्च भागमा घ्याङस्वाँरा पार्क निर्माण भइरहेको छ । पञ्चकन्या गाउँपालिकाको अगुवाइमा पार्क निर्माण धमाधम भइरहेको छ । झन्डै २० रोपनी क्षेत्रफलमा निर्माणाधीन पार्क स्थलबाट दक्षिण उत्तरतर्फ रहेको भुमेस्थान मन्दिरसम्म जाने सिँढी निर्माणको काम अहिले धमाधम भइरहेको गाउँपालिकाले जनाएको छ ।

मुलुकका विभिन्न जिल्लामा प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम दुरुपयोग भयो भन्ने गुनासा र चर्चा चलिरहँदा पञ्चकन्यामा भने सदुपयोग भएको देखिएको छ । पार्क स्थलको सिडी निर्माणमा  प्रधानमन्त्री रोजगार कार्यक्रममा पञ्चकन्या गाउँपालिकाबाट सञ्चालन आयोजनामा अनुगमन तथा सुचीकृत बेरोजगार श्रमिकहरु खटिएका छन् । 

अध्यक्ष तेजबहादुर तामाङले पछिल्लो समय कामको दैनिक अवलोकन र निगरानी गर्दै आउनुभएको छ । अध्यक्ष तामाङले अहिले निर्माण भइरहेको सिँढीलाई पूर्णता दिने, भुमेथान मन्दिर नजिक भ्यूटावर निर्माण गर्ने, त्यसबाट पार्कस्थलमा झर्न जिपलाइन बनाउनेलगायतका योजना रहेको जानकारी दिनुभयो । भूटावरबाट नुवाकोटका जिल्ला सदरमुकामका पूर्वीभेग, रसुवामा पर्ने गणेश हिमाल, राहुचुली हिमाललगायत हिमशृंखलालगायत दृश्य अवलोकन गर्न सकिन्छ ।  

पार्कस्थलमा फुटबल मैदान, क्रिकेट मैदान र वनभोजमा जानेहरुका लागि आवश्यक सेटहाउस जस्ता संरचना निर्माण गर्ने चरणमा रहेको बताइएको छ । अहिले पार्कस्थलमै पाहुना गृह निर्माण भइसकेको छ । त्यस्तै नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा प्राण त्यागेकाहरुको सम्झनामा सहिद स्मारक पार्क पनि निर्माण हुने अध्यक्ष तामाङले जानकारी दिनुभयो । गाउँपालिकाभित्रमा जनयुद्धकालमा १२ जना सहिद भएका छन् । उनीहरुको अर्धकदको सालिक निर्माण गरिने अध्यक्ष तामाङले बताउनुभयो । आफ्नो पहिलो कार्यकाल अन्तिम चरणमा पुगेकोले विकासका महत्वपूर्ण आधारहरुलाई नयाँ नेतृत्वले पनि पूरा गर्नु पर्ने बाध्यता रहने अध्यक्ष तामाङको बुझाइ छ ।

पञ्चकन्याको पर्यटन प्रवर्द्धनका लागि घ्याङस्वाँरा पार्कको महत्वपूर्व योगदान रहने उहाँले बताउनुभयो । ‘जाउँ है घ्याङ्स्वाँरा भन्ने खालको वातावरण बनाउँदैछौं । त्यहाँ रमाइलो ठाउँ छ । त्यहाँसम्म गएर आउँ न भन्ने खालको सन्देश सम्प्रेषण गर्न पायो भने, गाउँमा चहलपहल होस । कोही बाहिरको मान्छे आइदिओस् । र यहाँका स्थानीयको आर्थिक अवस्थामा केही मद्दत पुगोस् भन्ने योजना गाउँपालिकाको हो,’ उहाँको भनाइ थियो । 





प्रतिक्रिया दिनुहोस्