काठमाडौं, १५ माघ । राष्ट्रिय युवा संघ नेपाल नुवाकोट र नुवाकोट-काठमाडौं अन्तर जिल्ला कमिटिले हिंसात्मक अभिव्यक्ति दिने संघीय मन्त्री रेणुकुमारी यादवको पदमा बस्ने नैतिक हैसियत नभएको बताएको छ ।
राष्ट्रिय युवा संघ नेपाल नुवाकोट र नुवाकोज-काठमाडौं अन्तर जिल्ला कमिटिको संयुक्त आयोजना र युथ फोर्स नेपालको समर्थनमा युवा संघ नेपालले शनिबार गरेको विरोधमा प्रदर्शनमा नेपाल सरकारको बहालवाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं जसपा नेतृ रेणुकुमारी यादवले सम्बोधन गर्ने क्रममा ज्यान मार्ने धम्की दिएकोमा राष्ट्रिय युवा संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको युवा संघले जनाएको छ ।
प्रदर्शनका क्रममा संघले संविधान,ऐन, कानुन, नीति–नियम र विधि पद्धतिको पूर्ण पालना तथा रक्षा गर्नुपर्ने व्यक्तिले गैरकानुनी अभिव्यक्ति दिनु व्यक्तिको बाँच्न पाउने नैसर्गिक मूल्यमान्यता र मौलिक हक अधिकारमाथिको नाङ्गो प्रहार भएको जनाएको छ ।
यस्तो अभिव्यक्तिले हत्या, हिंसालाई मलजल गर्ने र अराजकता फैलाउनको काम गरेको युवा संघको ठहर छ ।
अप्राकृतिक गठबन्धन र असंवैधानिक प्रक्रियाबाट जन्मिएको पञ्चदलीय गठबन्धन सरकारले गैरकानुनी हिसाबले स्थानीय तहको निर्वाचन रोक्ने र २०५९ सालदेखि २०७४ सालसम्मको अवस्था जस्तै स्थानीय तह जनप्रतिनिधि विहीन बनाउने कुतसित प्रयासको राष्ट्रिय युवा संघ नेपालले कडा प्रतिवाद गर्ने पनि जनाएको छ ।
नेपालको संविधान २०७२ ले स्थानीय तह जनप्रतिनिधि विहीनको कल्पना समेत नगरेको उनिहरुले बताएका छन् ।

आर्थिक वर्षको समाप्ति पछि गाउँ सभा र नगर सभाको अनुमति विना सञ्चित कोषबाट रकम खर्च नपाइने, स्थानीय सञ्चित कोषबाट सुविधा पाउने शिक्षक कर्मचारीहरूको तलब भत्ता रोकिने, बहुवर्षीय क्रमागत विकास आयोजनाका कामहरू रोकिने, संविधानको मर्म बमोजिम प्रत्येक ६–६ महिनामा गाउँ तथा नगर सभा बस्न नसक्ने, कुनै पनि विकास निर्माण र जनताको दैनन्दिनका सेवा प्रवाह सम्बन्धी काममा सेवा बन्द हुने, जिल्ला समन्वय समिति, राष्ट्रिय सभा, राष्ट्रपति, उपराष्ट्रपति समेतको निर्वाचन प्रभावित हुने र सार्वभौम संसदबाट निर्मित कानुनको ठाडो उल्लङ्घन भई समग्रमा वलीदानी संघर्षबाट प्राप्त संघीयताको मूल मर्ममाथि प्रहार गरी पुनः केन्द्रीकृत अभ्यासको थालनी हुने भएकाले स्थानीय तहको निर्वाचन कानुन बमोजिम २०७९ बैशाखभित्र हुने गरी यथाशक्य घोषणा गर्न राष्ट्रिय युवा संघ नेपालले माग गरेको छ ।

‘निर्वाचन नगर्ने कुनै पनि हर्कत स्वीकार्य छैन, गैरकानुनी प्रतिगामी कार्यको राष्ट्रिय युवा संघ नेपाल कडा प्रतिवादमा उत्रिन बाध्य हुने युवा संघ केन्द्रीय सदस्य आर्यन श्रेष्ठले बताएका छन् ।
उक्त विरोध कार्यक्रममा युथ फोर्स नेपालका केन्द्रिय सह संयोजक अमित पौडेल , युवा संघ केन्द्रिय सदस्य आर्यन श्रेष्ठ ,युवा संघ नुवाकोट जिल्ला कमिटी अध्यक्ष प्रज्वल सापकोटा , राष्ट्रिय युवा संघका निवर्तमान केन्द्रिय सुरेश भन्डारी तथा अन्तर जिल्ला कमिटी संयोजक अमित मगर लगायतको उपस्थिति रहेको थियो ।
उक्त बिरोध जुलुस गंगबु चोकबाट सुरु भई बसपार्क परिक्रमा गरी गंगबु चोकमा आएर कोण सभामा परिणत भएको थियो ।