काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेको आशलाग्दो यात्रा देखेर पाँच दलीय गठबन्धन बनेको आरोप लगाएका छन्।
एमाले राष्ट्रिय स्वधीनता र स्वाभिमानको रक्षा तथा विकास समृद्धिको यात्रामा अघि बढिरहेकाले लोकप्रियता बढेको र त्यही लोकप्रियतालाई रोक्न गठबन्धन बनेको दाबी गरेका छन्।
उनले लेखेका छन्‚ ‘जनादेशको सम्मान, राष्ट्रिय स्वधीनता र स्वाभिमानको रक्षा र विकास र समृद्धिको आश लाग्दो यात्रामा अघि बढ्दो एमालेको बढ्दो शक्ति र लोकप्रियताका रोक्न बनेको हो पाँच दलीय गठबन्धन।’
महासचिव पोखरेलले आगामी तीन तहको चुनावसँगै पुरानो जनादेश खण्डित हुने भएकाले नयाँ जनादेशको विकल्प नभएको बताएका छन्। यस्तै‚
चुनावमा एजेण्डाविहीन गठबन्धनले नभई जनताका पक्षको एजेण्डाले जित्ने दाबी गरेका छन्।
‘एजेण्डाविहीन गठबन्धनले होइन, देश र जनताका पक्षको एजेण्डाबाट नै चुनाव जित्ने हो। अब सिंगो पार्टी पंक्ति विगतमा हामीले गरेका राम्रा काम र गर्न चाहेको कामको फेरिस्त बोकेर जनताका बीचमा जाऔं‚’ उनले लेखेका छन्, ‘जनताको फैसला सत्य र न्यायको पक्षमा हुनेछ।’
माघ १९ प्रतिगमनको दुश्चक्रको पुनरावृत्ति भएको दिन भएको उल्लेख गरेका छन्।
‘जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको अकर्मण्यताको पटाक्षेप भएको दिन। शाही नेपाली सेनाको घेराबन्दीबाट जोगिएर नखोसिने लोकतन्त्रको यात्रामा अघि बढेको दिन‚’ उनले लेखेका छन्, ‘पीडाजनक इतिहासबाट शिक्षा लिएर संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दिशामा अघि बढौं।’
२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिने घोषणा गर्दै शाही घोषणा गरेका थिए। आफैँले नियुक्त गरेका प्रधानमन्त्री देउवालाई अक्षम भन्दै ज्ञानेन्द्रले आफ्नो अध्यक्षतामा मन्त्रिपरिषद् गठनको घोषणा गरेका थिए।