नुवाकोट, २६ माघ । नुवाकोटको लिखु गाउँपालिकाको कुनै पनि वडा कार्यालयबाट प्रवाह हुने प्रशासनिक सेवामा सन्तुष्ट नभए सेवाग्राहीले गुनासो गर्न सक्ने भएका छन् ।
पालिकाको हरेक वडाबाट प्रदान हुने सेवा, वडा सचिव वा अन्य कर्मचारीको प्रशासनिक सेवाले आफू सन्तुष्ट नभए जनताले सिधै पालिकामा आएर आफूलाई गुनासो गर्न सक्ने प्रमुख प्रशासकीय अधिकृत छाँयालाल मोक्तानले बागमती प्रेसलाई जानकारी दिएका छन् ।
साथै, पालिकामा नै गएर गुनासो गर्न सक्ने अवस्था नभएको खण्डमा पालिकाले राखेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी भएर गुनासो राख्न प्रमुख प्रशासकीय अधिकृत मोक्तानले अनुरोध समेत गरेका छन् ।
लिखु गाउँपालिकाले दुई महिना भित्र ग्राहक सन्तुष्टी सर्वेक्षण पनि गर्ने प्रमुख प्रशासकीय अधिकृत मोक्तानले बताएका छन् ।
आफू गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर आईसकेपछि गाउँपालिकाको हरेक वडाको प्रशासनिक कामलाई चुस्त दुरुस्त राख्न र जनताले सहज वातावरणमा सेवा पाउन सक्ने अवस्था सिर्जना गर्ने कामलाई महत्व दिईरहेको मोक्तानले जानकारी दिए ।