काठमाडौं, २९ माघ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे दुर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताएका छन् ।
पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका वरिष्ठ उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई गम्भीर नोक्सान पुर्याउने काममा अध्यक्ष दाहाल लागि परेको बताएका हुन् । शनिवार काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन गर्दै उनले अध्यक्ष दाहालले एमसीसीबारे विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा र जनतासँग बेग्लै कुरा गरेर फट्याइँ गरिरहेको आरोप समेत लगाए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिक पार्टीका नेताहरूले देश र जनताको हित विपरीत हुने यस्ता खालका गतिविधिले समाजमा झनै विकृति बढ्नेतर्फ पनि सचेत गराए । उनले जनताको बीचमा फट्याइँ कुरा गर्ने नेताहरूलाई चिनेर सचेत गराउन पनि सबैलाई आग्रह गरे । वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘राजनीतिक ढंगले अनेक खालका दूभाग्यपूर्ण विवादहरू देखिरहेका छौँ हामीहरू । म एउटा राजनीतिक पार्टीको जिम्मेवार कार्यकर्ता पनि हुँ । राजनीतिक पार्टीका मान्छेहरूमा विकृति आयो भने समाजमा पनि विकृति बढ्छ । राजनीतिक पार्टीका नेता यता हे¥यो यतैका कुरा, उता हे¥यो उताका कुरा, ऊ पर हे¥यो, परका कुरा गर्ने खालका भए भने त्यो फट्याइँबाट समाज आक्रान्त हुन पुग्छ । यो कुरालाई पनि चिन्नुपर्ने जरुरी हुन्छ । राजनीतिक पार्टीका मान्छेहरूले जे जनताको हितमा, देशको हितमा हुन्छ । त्यो सही कुरा बोल्ने सामर्थ्य राख्नुपर्दछ । नत्र भने यता गयो यताका कुरा, उता गयो उताका कुरा गर्ने चरित्र देखायो भने त्यसले नोक्सानी हुन्छ । जो अहिले हामी देख्दैछौं, भोग्दैछौं । विदेशीसित गयो एउटा कुरा, कार्यकर्तासँग भेट भयो एउटा कुरा । जनतासँग गयो अर्कै कुरा । यस्ता खालका झिल्केमिल्के कुरा गरेर जनतालाई अलमल्याउने खालका कतिपय गतिविधि भएका छन् । जो दुर्भाग्यपूर्ण कुरा हो । यस्तो हुनु हुँदैन । त्यसकारणले हामी राजनीतिक पार्टीका मान्छेहरू पनि जनताको निगरानीमा बसिराख्यौ भने हामीबाट भुलचुक हुन कमी हुन्छ । भुलचुक हुँदैन । भइहाल्यो भने थोरै होला, सच्याउन सकिन्छ । तर जनताको निगरानीमा बसिएन भने अनि कमजोरीहरू हुन्छन् ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले सार्वजनिक सम्पत्तिहरू अतिक्रमण हुन नदिन र त्यसको सदुपयोग हुने गरी अघि बढाउनका लागि स्थानीय तहहरुले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औँल्याए । त्यस अवसरमा उनले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई जनताको हितमा केन्द्रित भएर काम गर्न पनि निर्देशन दिए । कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्क, बगैँचालगायतका सार्वजनिक क्षेत्रहरूको सफाइमा ध्यान दिने र त्यसको सदुपयोग गरेर अघि बढ्ने काममा लाग्न स्थानीय बासीलाई आग्रह गरे । उनले काठमाडौं महानगरपालिकालाई सुन्दर र हराभरा बनाउन आफूहरूले पार्क निर्माण कार्यलाई तीव्रता दिए पनि त्यसको सदुपयोग हुन नसकेको गुनासो गरे ।
मेयर शाक्यले आफूले जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको दाबी समेत गरे ।