• ९ माघ २०८१, बुधबार

त्रिशुली अस्पतालको अध्यक्षमा अर्जुन न्यौपानेलाई कायम राख्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, १३ फागुन । बागमती प्रदेश सरकारले हटाएको नुवाकोटको त्रिशुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन प्रसाद न्यौपाने सहित अन्य तीन जिल्लाका अस्पताल प्रमुखलाई काम गर्न दिन सर्वाेच्च अदालतले अन्तरिम आदेश गरेको छ ।

शुक्रबार सर्वाेच्च अदालतका न्यायाधीस हरिप्रसाद फुयाँलको एकल इजलासले बागमती प्रदेश अन्तर्गतका चार वटा अस्पतालका अध्यक्षका पक्षमा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चको अन्तरिम आदेश पाएका अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरूमा नुवाकोटको त्रिशुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपाने, रसुवा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामशरण कुइकेल, भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवाल र धादिङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमला क्षेत्री रहेका छन ।

चार जिल्लाका अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरु बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले आफूलाई हटाउने निर्णय विरुद्ध सर्वाेच्च गएका थिए । उनीहरुले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय, सामाजिक विकास मन्त्रालय र प्रदेशका स्वास्थ्यमन्त्री विरुद्ध रिट दायर गरेका थिए ।

साथै त्रिशुली अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष राजु पण्डितले शुक्रबार पदभार ग्रहण गरेका थिए ।

देशकै उत्कृष्ट अस्पताल बनाउन सफल त्रिशुली अस्पतालका अध्यक्ष अर्जुन न्यौपानेलाई राजनीति प्रतिसोधका कारण प्रदेश सरकारले हटाए पनि पुनः अदालतले नहटाउन आदेश जारी गरेको हो ।





प्रतिक्रिया दिनुहोस्