• ४ बैशाख २०८३, शुक्रबार

हितबहादुर र राधिका तामाङको पहलमा ४७ घरधुरी माथिको ठूलोढुङ्गा हटाउन सुरु

नुवाकोट, २१ फागुन । नेकपा माओवादी केन्द्रका नेताहरुको पहलमा नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको वडा नम्बर १ को बस्ती माथिको ठूलोढुङ्गा हटाउन सुरु गरिएको छ ।

माओवादी केन्द्रका नेताहरु संघिय सांसद हितबहादुर तामाङ र बागमती प्रदेशको उपसभामुख राधिका तामाङको पहलमा वडा नम्बर १ को घ्याङफेदीस्थित नेगीगाउँमा बस्तीमाथि रहेको ढुङ्गालाई नेपाली सेनाको जबरजङग नुवाकोटले गणले हटाउन सुरु गरेको हो ।

२०७२ को भूकम्पको कम्पनले डगमगाएको ढुङ्गा हरेक वर्ष स्थान छाडेर बग्न थालेसँगैँ त्यसलाई सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर हटाउन सुरु गरेको छ ।

ढुङ्गा डगमगाएको बर्षदेखी नै उक्त क्षेत्रबाट निर्वाचित संघिय सांसद हितबहादुर तामाङ, प्रदेशसभा सदस्यमा निर्वाचित बागमती प्रदेशको उपसभामुख राधिका तामाङ सहितको टोली स्थलगत अनुगमन र जोखिममा परेकाहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नका लागी पटक/पटक घ्याङ्फेदी पुग्नुभएको छ ।

नेताहरुको पहलमा नुवाकोटका तत्कालीन प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालसहित नेपाली सेनाको टोलीले स्थलगत अवलोकन गरी ढुङ्गा हटाउन प्रयास गरिएको थियो ।

उक्त ढुङ्गाले नेगीगाउँका ४७ घरधुरी र एक बिद्यालय जोखिममा परेको छ । जोखिममा परेको प्राविधिक प्रतिवेदनका आधारमा नेपालमा उपलब्ध प्रविधि, स्रोतसाधनको परिचालन गरेर ढुङ्गा हटाउन दुप्चेश्वर गाउँपालिकासँग गरेको सम्झौता अनुसार सोमबारदेखि काम थालिएको जबरजङग गण देवीघाटका गणपति अरुण कार्कीले जानकारी दिनुभएको छ ।





प्रतिक्रिया दिनुहोस्