• २५ आश्विन २०८३, आईतवार

गठबन्धन स्थानीय तहको चुनाव नगराउने षडयन्त्रमा छ : एमाले नेता नेम्बाङ

काठमाडौं : एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पाँचदलीय गठबन्धनमाथि सकेसम्म स्थानीय तहको चुनाव हुनै नदिने नभए सार्ने त्यो पनि नसके चुनावमा गोलमाल गर्ने सुरमा रहेको आरोप लगाए। ‘उहाँहरू मलाई लाग्छ, स्थानीय तहको निर्वाचन भत्काउन लाग्ने, त्यसलाई पर पुर्‍याउने, निर्वाचनमै गडबड गर्ने लगायत कुराहरू हुन सक्छन्,’ उनले भने, ‘तर एउटा कुरा के हो भने हामीले विशेष कारणवश जनतामा जाउँ न भनेकै हो। हामी आफ्नो भनाइमा अडिग छौँ।’

उनले स्थानीय तहको निर्वाचन सार्न अर्ली इलेक्शनको कुरा उठाइएको आरोप पनि बताए। ‘अहिले आएर अचानक संसद विघटन भयो भने र चुनावमा अलि चाँडो जनताबीच जानुपर्‍यो भने त्यो गएकोलाई प्रतिगमन भन्ने साथीहरूले अहिले किन यस्तो सोचाइ ल्याइरहेका छन्,’ नेम्बाङले भने, ‘एउटा भनाइ छ ‘कतै हेरेर कतै हिर्काउने’ यसबाट पनि बुझ्नुस् तपाईँहरूले उहाँहरूको हिँडाइ सोझो छैन।’

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले महाअभियोगको प्रक्रिया उपयुक्त निष्कर्षमा पुर्‍याउन भूमिका खेल्न सो समितिमा नाम दिएको बताए। उनले महाअभियोग सिफारिश समितिमा बसेर एमालेले संविधान, कानून र अभ्यासबमोजिम अगाडि बढी महत्वपूर्ण र क्रियाशील भूमिका निर्वाह गर्ने दाबी गरे।प्रतिनिधिसभाको आइतबार बसेको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सत्तारुढ गठबन्धनमाथि यस्तो आरोप लगाएका हुन्।

उनले भने, ‘यो महाअभियोगको प्रक्रिया ठिक ढंगले उपयुक्त निष्कर्षमा पुर्‍याउन हामीले भूमिका खेल्न भनेर संसद सचिवालयलाई नाम दिएका हौँ। त्यो नाम आज हामीले उपलब्ध गराएका छौँ। संसदका समितिका बैठकहरूमा अहिले पनि हामी भाग लिइरहेका छौँ। त्यसैले आजबाट यसमा संलग्न भएको भन्ने होइन। आजै पनि यो समिति पारित भइरहँदा हामी प्रतिनिधिसभाको बेलमा नारा लगाइरहेका थियौँ।’