नुवाकोट, १ चैत । नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नम्बर ५ को माछापोखरी स्थित चोगते दोभानमा आगामी १० गतेदेखि १७ गतेसम्म पितृ मुक्ति ज्ञान महायज्ञ आयोजना हुने भएको ।
२०७२ सालको महाभूकम्पमा परी ज्यान गुमाएका व्यक्तिहरुको आत्माको चिर शान्तीको लागि महायज्ञ सुरु हुन लागेको हो ।
महायज्ञ सूर्यगढी गाउँपालिकाको चोगते दोभानमा हुन लागेको जोशिला युवा क्लबका अध्यक्ष अच्युत ढकालले जानकारी दिए ।
महायज्ञको कथावचकमा राष्ट्रिय ख्यातिप्राप्त विद्धान वाल व्यास ज्योतिष पण्डित शंकर प्रसाद खनाल रहनुभएको छ ।
‘पितृ मुक्ति ज्ञान महायज्ञ-२०७८’ कालागि मञ्च, धान्याञ्चल, तुलादान, हवन लगायतका भौतिक निर्माण लगायत सम्पूर्ण तयारी पुरा भएको मूल समितिका संयोजक राज कपुर नेपालले बताए ।
महायज्ञमा दैनिक विभिन्न कार्यक्रम हुने
महायज्ञमा दैनिक विभिन्न कार्यक्रमहरु हुने छन् । जसमा तुलादान, भूमीदान, अन्नदान, धान्याञ्चल, नगद दान रहेका छन् । महायज्ञको हरेक दिन विहान साढे ६ बजेदेखी हवन तथा मण्डप पुजन , विहान साढे ७ बजेदेखी १२ बजे सम्म श्रीमद्भागवत् मुल पाठ, १२ बजेबाट ५ बजेसम्म श्रीमद्भागवत् कथा वाचन र वेलुका ५ बजेबाट ६ बजेसम्म आरती र प्रसाद वितरण तथा ८ बजेसम्म श्रीमद्भागवत् महात्म्य प्रवचन कार्यक्रम हुने छ ।
कलश यात्रामा सहभागी हुन अनुरोध
महायज्ञ उद्घाटनका दिन १० गते बिहीबार कलश यात्रामा सहभागी हुन सम्पूर्ण भक्तजनहरुमा आयोजकले अनुरोध गरेको छ । महायज्ञ उद्घाटनभन्दा पहिले हुने कलश यात्रामा सहभागी हुनकालागि आयेजक मूल समितिले सम्पूर्ण भक्तजनहरुमा अनुरोध गरेको हो ।
विहान ११ बजेबाट सुरु हुने कलश यात्रामा सहभागि हुनकालगि सम्पूर्ण संघसंस्था, विद्यालय, टोल विकास संस्था, युवा क्लब, आमा समूह, धार्मीक संघसंगठन लगायत सम्पूर्ण भक्तहरुलाई उपस्थितिकालागि आयोजक मूल समितिका संयोजक राज कपुर नेपालले अनुरोध गरेका छन् ।
साथै उद्घाटन कार्यक्रमकालागि उपस्थितिकालागि सम्पूर्ण अतिथिहरुलाई अनुरोध समेत गरेका छन्।