नुवाकोट, ४ चैत । काठमाडौंबाट टोखा हुँदै नुवाकोट छहरे जाने ‘टोखा–छहरे’ सडक खण्डको कन्तबिजोग नै परेको छ ।
सडकमा साना सवारी साधनहरु गुड्न सक्ने अवस्था पनि छैन।
टोखा छहरे सडकखण्डमा चारपाङ्ग्रे साना सवारी साधनहरु गुड्न नसक्ने स्थिति र गाडीले भुईंमा छुने, एक चोटी उक्त सडकखण्डबाट नुवाकोट कि जाँदा हजारौं खर्च गरेर सवारी सर्भिसिङ्ग गर्नुपर्ने यावत् समस्या भएपछि काठमाडौंको महलमा बस्ने नेताहरु आफ्नो महँगो ब्राण्डेड कार बिग्रिने डरले पृथ्वी राजमार्ग प्रयोग गरेर निर्वाचन लक्षित कार्यक्रम गर्न नुवाकोट जान थालेका छन् ।
यसरी आफ्नै जिल्लाको सडकको यस्तो दुरावस्था हँदा सडक निर्माणको कामलाई छिटो सक्ने कुरामा र अनुगमनको कुरामा भने नेताहरुको ध्यान जान सकेको देखिँदैन ।
नुवाकोटका संघिय सांसद, प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि लगायतका विभिन्न नेताहरु सँग सडकको बिषयमा कुराकानी गर्दा सबैले यथासक्य निर्माण कार्यलाई पूर्णता दिएर आवातजवत गर्ने वातावरण तयार गर्न ठेकेदार कम्पनीलाई सामूहिक निर्देशन दिएको बताईरहेका छन् ।
सबै राजनीतिक दलका नेताहरुको चुनावी भाषण र भोट माग्ने भाँडो बन्ने गरेको उक्त सडकखण्डको नुवाकोट पट्टीको अधिकांश सडकमा नालि पनि ननिकाली आदि ईन्च भन्दा पातलो कालो पत्रे गरेर भोट माग्ने भाँडो बनाउने तयारीलाई तिव्रता दिईएको छ । आगामी चैत १५ गतेबाट निर्वाचन आचारसंहिता लागू हुने भनेर निर्वाचन आयोगले भने सँगै नेताहरुले उक्त सडकबाटोको ढलान गर्नुपर्ने ठाउँमा पनि जथाभावी रातारात कालोपत्रे गरेर सडकलाई देखावटी रुपमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।
यसरी चुनाव लक्षित सडक निर्माण हुँदा भविष्यमा अझै टोखा छहरे सडकखण्डको कन्तबिजोग हुने निश्चित देखिन्छ ।