• २३ आश्विन २०८१, बुधबार

मधेश प्रदेश सरकारका डा. भोगेन्द्र झा यस वर्षको ‘महामूर्ख’

जनकपुरधाम : यस वर्षको ‘महामूर्ख’को उपाधि मधेश प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झालाई प्रदान गरिएको छ।

जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद् (मिनाप)ले प्रत्येक वर्षको होलीमा उक्त उपाधि प्रदान गर्दै आएको छ। उपाध्यक्ष झालाई शुक्रवार एक कार्यक्रम गरी उक्त उपाधि प्रदान गरिएको हो।

त्यसैगरी यस पटक प्रदेशसभा सदस्य मञ्जु यादवलाई अदल बदली, नेपाली कांग्रेसका नगर उपसभापति राकेश विक्रम साहलाई टिटही, मिथिला चित्रकार मनिषा साहलाई गन्हकी, मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डललाई हराशंख, नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झालाई दिलतोरिया उपाधि प्रदान गरिएको छ।

यस्तै, अधिवक्ता सुदिप कोइरालालाई गोबर गणेश, गिद्धाबेलापट्टी विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई डपोर शंख, वरिष्ठ कलाकार रामरेखा पण्डितलाई बज्रकिट, जनकपुरधाममा मिथिला चित्रकलालाई शुरुवात गरेकी मिथिलेश्वरी कर्णलाई लालबुझकड, व्यवसायी अभिशेष चौधरीलाई बोतलानन्द र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्यायलाई बैशाखनन्दनको उपाधि दिइएको छ।

मिनापले भाषा, संस्कृति, कला, सामाजिक रुपान्तरण, राजनीति जस्ता विधामा महत्त्वपूर्ण योदान पुर्‍याउने व्यक्तिलाई प्रत्येक वर्ष ‘महामूर्ख’को उपाधि प्रदान गर्दै आएका छन्। २०६१ सालदेखि यो उपाधि प्रदान गरिँदै आइएको छ।

२०६१ सालमा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, २०६२ मा तत्कालीन नेकपा एमालेका नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सदभावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ मा नेपालका राजनीतिक विश्लेषक सिके लाललाई उक्त उपाधि प्रदान गरिएको थियो।

त्यस्तै, २०६८ मा साहित्यकार रामभरोष कापडी भ्रमर, २०६९ मा मधेश प्रदेश सरकारका वर्तमान भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, २०७० मा तमलोपाका वरिष्ठ नेता डा. विजयकुमार सिंह, २०७१ मा मधेश प्रदेश सरकारका वर्तमान उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो, २०७२ मा समसानघाटको स्वरुप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिंघानियालाई महामूर्खको उपाधि प्रदान गरिएका थिए ।

२०७३ सालमा भने सप्तरीको मलेठमा नेकपा एमालेले गरेको मेची महाकाली अभियानको क्रममा प्रहरीको गोली लागि ५ जनाको मृत्यु भएपछि अन्तिम समयमा होली महोत्सव कार्यक्रम मिनापले स्थगित गरेको थियो। २०७४ मा महामूर्खको उपाधि तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल, २०७५ मा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहलाई प्रदान गरिएको थियो। त्यस्तै, २०७६ सालमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र २०७७ सालमा महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई महामूर्खको उपाधि प्रदान गरिएको थियो।





प्रतिक्रिया दिनुहोस्