काठमाडौं, ४ चैत । तारकेश्वर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष मधु कार्कीले आगामी स्थानिय तहको निर्वाचनमा वडाध्यक्षमा उमेद्वारी नदिने बताएका छन् ।
उनले आसन्न स्थानिय तहको निर्वाचनमा वडाध्यक्षमा उमेद्वारी नदिने दावी नै गरेका छन् ।
उनले अबको निर्वाचनमा पार्टीले विश्वास गर्यो भने वडाध्यक्ष भन्दा माथिलो तहको जिम्मेवारीमा जाने तर वडाध्यक्षमा नै उमेद्वारी नदिने बताएका छन् ।
आफूले एक कार्यकाल नेतृत्व गरेर वडाको समग्र पक्षको विकासमा महत्वपूर्ण परिवर्तन ल्याएको बताउँदै कार्कीले वडाको थप विकास र समृद्धिको लागि नयाँ नेतृत्व आउनुपर्छ जस्को लागि आफ्नो उमेद्वारी नहुने बताए ।
‘म जुन पार्टी वा समूहसँग आबद्ध छु , त्यो पार्टी वैठकको निर्णय नै निर्णायक हुने भएकोले पार्टीले जे जिम्मेवारी दिन्छ मैले त्यो जिम्मेवारी लिनुपर्ने हुन्छ’ , वडाध्यक्ष कार्कीले भने ।
उनले आफ्नो ५ वर्षे कार्यकालमा वडाको जथाभावी विकास भन्दा दिगो विकासको कामलाई महत्व दिएर काम गरेको देखिन्छ ।
कार्कीले वडाको सामाजिक, शैक्षिक, भौतिक निर्माण लगायतको समग्र पक्षको विकासको कामलाई सुरुका दिनदेखि नै निरन्तरता दिएका छन् ।
कार्की तत्कालीन स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट तारकेश्वर नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।
उनले लगातार ४ वर्ष एमालेकै समर्थन र एमालेले लिएको चुनावी घोषणापत्र र स्थानिय वडाको महत्वपूर्ण अवश्यकतालाई आत्मसाथ गरेर काम गरिरहेको भएता पनि नेकपा विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा सम्बद्ध भएर काम गरिरहेका छन् ।