काठमाडौं, १६ चैत । चन्द्रागिरी केवलकार मंगलबार दिउँसो आधा घन्टाभन्दा बढी समय रोकिँदा कोलाहल मच्चिएको तथ्य खुलेको छ ।
केवलकारमा चार दर्जनभन्दा बढी मानिस यात्रारत रहेको बताइन्छ । घटना मंगलबार दिउँसो २ बजेको हो । चलिरहेको केवलकार अचानक रोकिएपछि यात्रुहरू केही समय पुनः सुचारु हुने आशामा बसेका थिए ।
केवलकारको तारमा झुन्डिएको डब्बामा लामो समयसम्म थुनिएर बस्दा यात्रुहरूबीच कोलाहल मच्चिएको थियो । त्यसपछि उद्धारका लागि थानकोटस्थित महानगरीय प्रहरी वृत्तका प्रहरीलाई बोलाइएको थियो ।
‘साढे दुई बजेतिरको घटना हो । केवलकार रोकियो भनेर खबर आयो । अनि हाम्रो टोली परिचालित भयो,’ प्रहरी निरीक्षक मनोज श्रेष्ठले भने, ‘३६ जना केवलकारको डब्बामा अड्किएका थिए । आधा घन्टा लगाएर उनीहरूको उद्धार गरियो ।’
उद्धार गरेर डब्बाबाट बाहिर निस्किँदा यात्रुहरू निकै अत्तालिएको प्रत्यक्षदर्शीले बताएका छन् । कुनै अप्रिय घटना नहोस् भनेर पहिले नै त्यहाँ नेपाल प्रहरीको विपद् उद्धार टोलीसमेत खटाइएको थियो ।
‘विपद् उद्धार टोलीलाई पनि तयारी अवस्थामा राखेका थियौं । डोरीमा गएर निकाल्नुपर्ला भनेर विपद् उद्धार टोली राखिएको थियो । तर त्यसो गर्नुपरेन,’ श्रेष्ठले भने ।
विस्तारै डोरी तानेर केवलकारका डब्बालाई स्टेसनसम्म ल्याइएको थियो । केवलकार आधा घन्टाभन्दा बढी समय रोकिँदा चन्द्रागिरीको चुचुरोमा रहेको भालेश्वर महादेव मन्दिर वरपर चार सयको हाराहारीमा यात्रुहरू थिए ।
उनीहरू फर्कन पालो कुरेर बसेका थिए । चन्द्रागिरी हिल्सका प्रबन्ध निर्देशक अभिषेकविक्रम शाहले हाइभोल्टेजका कारण ट्रान्समिटर पड्किँदा केही समय केवलकार रोकिएको बताए ।