काठमाडौं : स्थानीय तह निर्वाचनमा तालमेलको निर्णय गरेका सत्ता गठबन्धन आबद्ध दलहरुले आज तालमेलको मोडालिटी सार्वजनिक गर्ने भएका छन्।
आज बिहान ९ बजे बस्ने गठबन्धनका शीर्ष नेता र निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठकले भागवण्डाको मोडालिटी तय गरेर सार्वजनिक गर्ने तयारी गरेको हो। हिजो बसेको निर्वाचन परिचालन तथा अनुगमन समिति बैठकमा देशभरका पालिकामा पार्टीहरूको शक्ति सन्तुलनको प्रारम्भिक रिपोर्टिङ लिए पछि आज शीर्ष नेताहरूसमेत सहभागी भएर छलफल गर्न लागिएको समितिका संयोजक रामचन्द्र पौडेलले जानकारी दिए।
हिजोको बैठकमा तालमेलको मोडालिटीबारे छलफल गरेर स्थानीय आवश्यकताअनुसार उम्मेदवार चयन गर्ने कुरामा सहमति भएको पौडेलले बताए।उनकाअनुसार केन्द्रमा बनाएको मोडालिटी नै सबै ठाउँमा जस्ताको तस्तै लागू गर्ने अवस्था नरहेकाले स्थानीय आवश्यकताअनुसार गर्न पनि हिजोको बैठकले निर्देशन दिएको छ।
यसअघि चैत २२ मा गठन बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलको नेतृत्वमा निर्वाचन परिचालन तथा अनुगमन समिति गठन गर्दै चैत २६ गते सबै प्रदेश, जिल्ला र स्थानीय तहबाट शक्ति सन्तुलनको अवस्थाबारे रिपोर्टिङ गर्न निर्देशन गरिएको थियो।
गठबन्धनका दलहरुबीच महानगरपालिकाका विषयमा सबैभन्दा धेरै असहमति देखिएको छ। कांग्रेसलाई तीन महानगरपालिका दिएर माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले एक-एक महानगर लिनेमा पनि सैद्धान्तिक सहमति भएको र महानगरका उम्मेदवार केन्द्रले टुंगो लगाउने बारेमा पनि हिजोको बैठकमा छलफल भएकाे थियो।
आजको बैठकपछि गठबन्धनमा आबद्ध दलहरुले संयुक्त अपिल पनि जारी गर्ने तयारी गरेको वरिष्ठ नेता पौडेलले जानकारी दिए।